मनसुनी वायु कमजोर भए पनि स्थानीय वायुको प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ५ आइतबार
769
Shares
काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुनी वायुको प्रभाव केही कमजोर भए पनि स्थानीय वायुको आंशिक प्रभावले आज देशका विभिन्न भागमा वर्षा हुने सम्भावना छ।
महाशाखाका अनुसार, आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा मौसम सामान्यतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली हुनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा र अन्य प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।
त्यस्तै, आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा मौसम सामान्यतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरू र बाँकी देशका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।
महाशाखाले वर्षाका कारण पहिरो, गेग्रान बहाव (debris flow), र नदीनालामा जलस्तर बढ्न सक्ने चेतावनी दिएको छ। साथै, यातायात क्षेत्र पनि प्रभावित हुन सक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन र आवश्यक पूर्वतयारी गर्न अनुरोध गरिएको छ।