स्वदेशी कच्चा पदार्थबाट साबुनसहित चालीस थरीका वस्तुहरु उत्पादन
नारायण वली,
प्रकाशित २०८२ असोज ६ सोमबार
1.3k
Shares
लुम्बिनी । दाङको घोराहीमा स्थानीय पदार्थको उच्चतम प्रयोग गरी हस्त र केही घरेलु मेसिनबाट साबुन उद्योग सञ्चालन हुँदै आएको छ । घोराही उपमहानगरपालिका–१५ का एक व्यक्तिले पछिल्लो दश वर्षदेखि स्थानीय कच्चापदार्थको प्रयोगगरी साबुन लगायत चालीस थरीका वस्तुहरु उत्पादन गर्दै आएका छन् । पूर्वशिक्षकसमेत रहेका उक्त व्यक्तिले बेरोजगारीका कारण दैनिक विदेशिनेको संख्या बढ्दै गएका बेला किताबको ज्ञानलाई प्रयोगमा उतार्न सके स्वदैशमै केही गर्न सकिने गतिलो उदाहरण देखाएका छन् ।
उदाहरणका पात्र हुन्, घोराहीका राजीव गौतम । स्वदेशमै विदेशको विकल्प रोज्न सकिने उद्यम घोराहीमै गरेर देखाएका गौतमले सात जनालाई प्रत्यक्ष रोजगारी दिँदै आएका छन् । घोराहीको नीमा हल रोडमा रहेको प्रभु लघु उद्योगबाट नुहाउने, भाँडा माझ्ने, कपडा धुने, स्याम्फू, सेतो फिनेल, कालो फिनेल, लाइजोन लिक्व्यूट, सीसा सफा गर्ने, गाडी टल्काउने, टायल, मार्वललगायत साबुनजन्य बस्तुहरु उत्पादन गरेर जिल्लाका मुख्य शहरहरु घोराही, तुलसीपुर, लमही, भालुबाङ र जिल्ला बाहिर नेपालगञ्ज, बुटवलसम्म बिक्री गर्दै आएको र उत्पादित एक सय ग्रामको साबुनलाई प्रति गोटा मूल्य तीन सय रुपैयाँ देखि नुहाउने ५० रुपैयाँ सम्म कायम गरिएको बताइएको छ ।
स्थानीय कच्चापदार्थ चिउरीको घ्यू, नरिवलको तेल, निम तेल, पाम कर्नेल तेल, हलेदोको पातबाट निकालिएको तेल, मेन्थाको तेल, लेबेन्डर तेल, भाङ्गोको तेल, आलु, अदुवा, हलेदो, मेवा, टमाटर, सुन्तला, घ्यूकुमारीको रस, चामल, मसुरो, मुलेठीको धुलो, चनाको पिठो, ग्लिसिरिन, भिटामिन बि र भिटामिन इ लगायतको मिश्रण गरी साबुन उत्पादन गर्दै आएको विज्ञान तथा नेपाली साहित्यका पूर्वविज्ञान शिक्षक एवं रुन्टी उजेली मुख धुने साबुन अध्ययन अनुसन्धान (सुत्रकर्ता) गौतमले बताए ।
नेपाली उत्पादनलाई चिनाउनलाई स्वदेशी कच्चापदार्थबाट बनाइएका उत्पादित बस्तुहरुको नामाकरण स्थानीय भू-गोल र कच्चापदार्थ बस्तुहरुको राखिएको छ । आफुले कमाउने भन्दा पनि युवा पुस्तालाई आफ्नो ज्ञान सिकाएर उद्यमी बनाउने लक्ष्यका साथ उद्यमलाई सञ्चालन गरेको गौतमको भनाई छ ।
२०७७ सालमा भएको कोरोना महामारीले घरमा बसेका बेला आफुलाई अध्ययन अनुसन्धानमा थप ध्यान गएको बताउँदै गौतमले भने म विज्ञानको शिक्षक पनि भएकाले ज्ञानलाई अव प्रयोगात्मकरुपमा लागू गरेर स्थानीय कच्चापदार्थबाट साबुन स्याम्फूहरु उत्पादन गर्न कसो नसकिएला र ? भनेर लागेको र लक्ष्य हासिल गर्न सफल भएको बताए । सीमित लागतबाट शुरु गरेको उद्योगमा अहिले लाखौं रुपयाँ लगानी पुगेको छ । उद्योगमा सरफ, हर्पिक र कुलिनसमेत उत्पादन हुँदै आएको छ ।
उनले भने, अहिले विदेश जाने लहर चलेको छ, तर हामीहरुले यही नै केही गर्नुपर्छ भन्ने सोँच बनाएर लाग्यौं भने असम्भव केही छैन् । नयाँ कामको सुरुआत गर्दा मेहनत गर्नुपर्छ, दुख नगरी केही हुँदैन भन्ने मान्यता राखेर अगाडि बढेमा गाउँठाउँबाटै आफु स्वरोजगारसँगै अन्यलाई पनि रोजगारी दिन सकिन्छ ।
गौतम भन्छन्, साबुन उत्पादनका लागि अधिकांश कच्चापदार्थ (९० प्रतिशत) स्वदेशकै र १० प्रतिशत भारतबाट खरिद गर्नुपर्ने हुन्छ । आफुले नै मेसिन बनाएर प्राकृतिक जडिबुटीयुक्त पदार्थको समिश्रणबाट बनाएको साबुनले शरिरका विभिन्न समस्याहरुलाई हल गर्ने दाबी गरे । उनले थपे, शरिर जिलाउने, अनुहारमा आउने डण्डिफोर, कोलो पातो, चाँया, डण्डिफोरले बनाएका काला दागहरु हटाउन, छाला चाउरी पर्ने समस्यालाई कम गर्ने र दाज लगायत समस्याको निराकरण गर्ने, फिनेल र गाडी धुनलाई स्याम्फू जस्ता गुणस्तरीय अर्गानिक सामाग्रीहरु उत्पादन गर्दै आएको छु ।
गौतमको लघु उद्यम यात्रा
२०६० सालदेखि अध्यापन शुरु गरेका गौतमले मावि हापुरमा दुई बर्ष र शुभप्रभात मावि घोराहीमा साढे १३ वर्ष शिक्षण पेशा गरेका उनलाई २०७२ सालतिरको नाकाबन्दी अध्ययन खोज गर्ने अवसर जुर्याे । उनी भन्छन्, २०५७ सालतिर घरमै मोटरसाइकल र गाडी धुने काम गर्थे, स्याम्फू धेरै प्रयोग हुने भएकाले स्याम्फूका पोका धेरै हुने भएकाले फोहोर हुन्थ्यो, त्यसलाई व्यवस्थापन गर्न गाह्रो हुन्थ्यो । व्यवस्थापनमा कठिनाई भएपछि मैले पछि मुन्चा हाउस काठमाडौंबाट ग्यालेनमा स्याम्फू ल्याउन थाले । काठमाडौंवालाले अनियमित गर्न थाल्यो । त्यसको विकल्पमा बुटवलबाट ल्याउन थाले, भारतले नाकाबन्दी गरेपछि उसले पनि धोका दियो, म गम्भीर मोडमा पुगे ।
स्याम्फू प्रयोग हुने मेरो व्यापार करिव करिव धरापमा पर्ने देखियो । म एकदिन बाथरुममा नुहाउन गएको थिए, बाथरुपमा डोभ स्याम्फू थियो । मैलै उक्त स्याम्फूको खोलमा एउटा फरमूला (सूत्र) देखेपछि स्याम्फू बनाउने जुक्ति थाहाँ पाए भनेर अत्यन्त उत्साहित भएँ । त्यसपछि देशमा कोरोना महामारी आयो, घरमा बसेको बेला गुगलमा खोज्न थाले, विश्व बजारमा स्याम्फूको माग राम्रो देखेपछि थप यसबारे अध्ययनमा लागे ।
अहिले चालीस प्रकारका बस्तुहरु उत्पादन गरेको छु । जसमा सरफ (तीन थरी), वासिन मेसिन र लुगा धुने र लिक्यूट, मुख धुने (दुई थरी), नुहाउने तीन थरी, हात धुने दुई थरी, लुगा धुने साबुन निम, तितेपाती घ्यूकुमारी लगायतबाट बनाउने गरेको छु ।
चुनौती/गैरजिम्मेवार निकाय
स्थानीय भू-गोलमा कच्चापदार्थ प्रशस्त पाइने भएपनि उद्योगमा काम गर्ने र जीवन उपयोगी सीप सिक्ने जनशक्तिको अभावले माग अनुसार उत्पादन गर्न कठिन भएको जनाइएको छ । स्थानीय तहहरुले खेर गइरहेका स्वदेशी पदार्थको प्रयोग गरी सदुपयोग गर्नुपर्ने भएपनि त्यतातिर ध्यान नदिएको र गरिएका साना लघु उद्यममा नगरमा रहेका बेरोजगार युवायुवतीलाई सीप सिकाउने र उद्यमी बनाउने भन्दा पनि कमिसनवाला एजेण्ड मार्फत् सीपमुलक तालिम चलाउने बाहेक दीर्घकालिन नभएको सरोकारवाला निकायको गुनासो छ ।