काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। यसका कारण आज मुलुकभर मौसम सामान्यतया बदली रहनेछ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। विशेषगरी, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई दुवै क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा मौसम सामान्यतया बदली रहनेछ भने बाँकी तराई भू–भागमा आंशिक बदली हुनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र अन्य भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।
महाशाखाले वर्षाका कारण पहिरो र गेग्रान बहावको जोखिम बढ्ने, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने र यातायात प्रभावित हुन सक्ने भन्दै सबैलाई सतर्क रहन र पूर्वतयारी गर्न अनुरोध गरेको छ।