arrow

इजरायलद्वारा गाजा सहरमा तीव्र हवाई आक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १ बुधबार
israel-gaza-25-3-20-ap.jpg

काठमाडौँ । इजरायली सेनाले मंगलबार बिहान गाजा सहरमा तीव्र हवाई आक्रमण गरेको विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन्। अन्तर्राष्ट्रिय समाचार स्रोतका अनुसार, इजरायली सेनाले सोमबार रातिबाट गाजा सहरलाई लक्षित गर्दै स्थलगत कारबाही सुरु गरेको दाबी गरेको छ। यद्यपि, केही स्रोतहरूले घनाबस्ती रहेको उत्तरी गाजा सहरमा स्थलगत सेनाको औपचारिक प्रवेश भएको पुष्टि नभएको बताएका छन्।

गाजाका केही स्थानीय बासिन्दा र प्रत्यक्षदर्शीहरूले सहरमा इजरायली ट्याङ्कहरू नदेखिएको बताए पनि अधिकांश क्षेत्रहरूमा हवाई र ड्रोन आक्रमणहरू तीव्र रूपमा भइरहेको पुष्टि गरेका छन्।

आक्रमणपछि इजरायली रक्षामन्त्री इजरायल काट्जले एक विज्ञप्तिमा भन्नुभयो, “गाजा अहिले ठूलो सङ्कटमा छ। हाम्रो सेना आतङ्ककारी संरचनाविरुद्ध कठोर कारबाही गर्दैछ, जसको उद्देश्य बन्दीहरूको सुरक्षित मुक्तिको सुनिश्चितता र हमासको अन्त्य गर्नु हो।” उहाँले इजरायलले आफ्नो उद्देश्य पूरा नभएसम्म पछि नहट्ने पनि बताउनुभयो।

प्यालेस्टिनी सरकारी समाचार संस्था वाफाले पनि सोमबार रातिदेखि इजरायली सेनाले गाजा सहरमाथि आक्रमण तीव्र पारेको जानकारी दिएको छ।

इजरायली सेनाको रेडियो प्रसारणअनुसार, हालसम्म करिब ३ लाखभन्दा बढी गाजा सहरका नागरिकहरू सुरक्षित स्थानतर्फ विस्थापित भइसकेका छन्। गाजा सहरमा करिब १० लाख मानिसको बसोबास रहेको अनुमान गरिएको छ।

यसैबीच, सोमबार इजरायल भ्रमणमा रहेका अमेरिकी परराष्ट्रमन्त्री मार्को रुबियोले पत्रकार सम्मेलनमा “गाजाका जनताले राम्रो र शान्तिपूर्ण भविष्यको अधिकार राख्छन्, तर त्यो हमासको अन्त्य भएपछि मात्र सम्भव हुनेछ” भन्दै इजरायललाई पूर्ण समर्थन रहने प्रतिबद्धता जनाएका छन्।

यसअघि साउन महिनामा इजरायली सुरक्षा मन्त्रिपरिषद्ले गाजा सहर नियन्त्रणमा लिने योजना पारित गरेको थियो र इजरायली सेनाले हाल गाजा सहरको करिब ४० प्रतिशत भू-भाग सेनाको नियन्त्रणमा रहेको जानकारी दिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ