रुपन्देही। जेन-जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनेको रुपन्देहीस्थित आन्तरिक राजस्व कार्यालयले आफ्नो पार्किङस्थलबाट सेवा प्रवाह शुरु गरेको छ। कार्यालयले आइतबारदेखि टेन्ट राखेर अत्यावश्यक सेवा दिन थालेको हो।
प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलका अनुसार, इन्टरनेट र बिजुलीको व्यवस्थापन गरी ल्यापटप र प्रिन्टरमार्फत सेवा दिइरहेको छ। उनले भने, “हामीले अत्यावश्यक सेवा शुरु गरेका छौँ। धेरै सेवा अनलाइन माध्यमबाट प्रदान भइरहेका छन्।”
आगजनीबाट कार्यालयको मुख्य भवनमा ठूलो क्षति पुगेको छ। सातवटा कोठा पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने कम्प्युटर, ल्यापटप, प्रिन्टर, टेबल, कुर्सी, सोफा र दराजजस्ता थुप्रै सामान पनि जलेका छन्। केही करदाताका फाइल र सवारीसाधनमा समेत क्षति पुगेको पोख्रेलले जानकारी दिए।
भदौ २३ गतेदेखि जारी भएको निषेधाज्ञा र कर्फ्यू रुपन्देहीबाट हटाइएको छ। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले भदौ २८ गते शनिबारदेखि निषेधाज्ञा र कर्फ्यू हटाइएको जानकारी दिए।
जिल्लाको शान्ति सुरक्षा सामान्य रहेको र जनजीवन पनि सामान्यीकरणतर्फ उन्मुख भएको उनले बताए। जिल्ला प्रशासन कार्यालयले सबै पक्षलाई पारस्परिक सद्भाव कायम राख्न, सार्वजनिक सेवा प्रवाह गर्न र बजार व्यवस्थालाई चलायमान बनाउन सहयोगका लागि अनुरोध गरेको छ।