झुम्का कारागारबाट भागेका सात सय पाँच कैदीबन्दी पक्राउ
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३१ मंगलबार
812
Shares
सुनसरी। सुनसरीको रामधुनी नगरपालिकास्थित झुम्का कारागारबाट भागेका १,५७२ जना कैदीबन्दीमध्ये सोमबार साँझसम्म ७०५ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाका अनुसार, भदौ २३ र २४ गते भएको 'जेन-जी' प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण कैदीबन्दी भागेका हुन्। भदौ २४ गते राति १०० भन्दा बढी प्रदर्शनकारीहरूले कारागारमा प्रवेश गरी क्षति पुर्याउन थालेपछि कैदीबन्दी भागेको उनले बताए।
प्रहरी उपरीक्षक तिम्सिनाले बाहिरबाट प्रदर्शनकारीको दबाब र भित्रका कैदीबन्दीले आगो लगाउने धम्की दिएपछि कारागार प्रशासनले थप क्षति हुन नदिन प्रवेशद्वारमा सुरक्षा खुकुलो पारेको जानकारी दिए। कारागारमा रहेका दुई ब्लकमध्ये एकैसाथ १,५७२ जना कैदीबन्दी भागेका थिए।
कारागारमा रहेका ६५ जना भारतीयसहित सबै विदेशी कैदीबन्दीहरू पनि भागेको तिम्सिनाले बताए। सोमबार रातिसम्म ७०५ जनालाई नियन्त्रणमा लिइएको र बाँकीको खोजीकार्य जारी रहेको पनि उनले जनाएका छन्