हामी फेरि उठ्ने छौँ, तपाईंहरूसँगै, एनसेल नेपालकै लागि
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३० सोमबार
811
Shares
काठमाडौँ। गत हप्ताको तोडफोडका घटनाले हाम्रो काठमाडौँस्थित मुख्य कार्यालय ‘एनसेल आइकम’ सहित महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयहरूलाई गम्भीर क्षति पुर्याएको कुरा गहिरो दुःखका साथ पुष्टि गर्दछौँ। यी घटनाले भौतिक क्षति मात्र नभई कर्मचारीहरूको सुरक्षा र सेवा निरन्तरतामा पनि गम्भीर जोखिम उत्पन्न गराएका थिए।
यी चुनौतीहरूको बाबजुद, एनसेल सधैँ झैँ देश र आम जनमानसलाई दूरसञ्चार सेवामा निरन्तर पहुँच सुनिश्चित राख्ने आफ्नो मूल उद्देश्यमा अडिग रह्यो। सङ्कटको समयमा सहज रूपमा सेवाको उपलब्धता सुनिश्चित गर्नका लागि हामीले तीन दिनसम्म निःशुल्क लोकल भ्वाइस कल, एसएमएस र इन्टरनेट सेवा उपलब्ध गरायौँ। हामीले विगत २० वर्षदेखि नेपाली जनसमुदायलाई सेवा पुर्याउने कार्यलाई प्रमुख प्राथमिकता दिँदै आएका छौँ र यसले हाम्रो ग्राहकप्रतिको अटुट समर्पणलाई स्पष्ट रूपमा प्रतिबिम्बित गर्दछ।
अब नेपाल अन्तरिम सरकारको नेतृत्वमा नयाँ अध्यायतर्फ अघि बढ्दै गर्दा, नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई हामी हार्दिक बधाई ज्ञापन गर्दछौँ। देशका युवाहरूको अगुवाइमा गरिएको यस आन्दोलनले ल्याएको परिवर्तनलाई हामी स्वागत गर्दछौँ र यो परिवर्तनले सबै नेपालीका लागि अझ ठूलो एकता, शान्ति र समृद्धि ल्याओस् भन्ने सामूहिक आशा हामी साझा गर्दछौँ।
२० वर्षदेखि एनसेलले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा नेपालको रूपान्तरण यात्रामा साथ दिँदै, रोजगारी सिर्जना, आर्थिक वृद्धिलाई गति प्रदान गर्दै र डिजिटल नेपाल निर्माणको भिजनमा योगदान पुर्याउँदै आएको छ। आज हामी अझै दृढ सङ्कल्प र सहनशीलताका साथ देश र जनताको सेवा गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याउन चाहन्छौँ। हामी आफ्ना कर्मचारी, ग्राहक र जनसमुदायसँग काँधमा काँध मिलाएर उभिएका छौँ र अहिलेसम्म प्रदान गर्नु भएको साथ, समर्थन तथा ऐक्यबद्धताप्रति हृदयदेखि आभारी छौँ।
अन्त्यमा, गत हप्ताको आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको आत्माको चिर सान्तीको कामना गर्दै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको लागि शुभेच्छा प्रकट गर्दछौँ।