arrow

आगजनीले ध्वस्त सिंहदरबार, राष्ट्रिय झण्डाले जगाउँदैछ आशा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३० सोमबार
Singhdurbar drone shot.jpeg

काठमाडौँ। जेन-जी प्रदर्शनका क्रममा भएको आगजनीले सिंहदरबार पूर्ण रूपमा खण्डहर बनेको छ। तर पनि, शिरमा चन्द्र-सूर्य अंकित राष्ट्रिय झण्डा फहराइरहेको छ, जसले नेपाल र नेपालीको आस्था र विश्वासलाई जीवित राखेको छ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक केशव बस्याल सिंहदरबारको अवस्था देखेर भावुक देखिए। उनले भने, “यो सबै दृश्य मेरा आँखाले राम्रोसँग हेर्न पनि सकेका छैनन्, स्वाभाविक रुपमा भावुक छु। तर निराशासँगै आशा र विश्वास ढलेको छैन। पक्कै फेरि पनि सिंहदरबार उभिनेछ भन्नेमा म विश्वस्त छु।”

सिंहदरबारको आगजनी र तोडफोडले यसको सुन्दरता कुरुप बनाएको छ। धुवाँले लतपतिएका भित्ताहरू, आकर्षक शिल्पी र कलाकृतिहरू पुनर्निर्माणको पर्खाइमा छन्। कानुन व्यवसायी देवमाया घिमिरेले सिंहदरबार जलेको दृश्यले मन जलाएको र हृदय भारी भएको बताइन्।

कानुन व्यवसायी सुमित्रा श्रेष्ठ ले सिंहदरबारजस्ता सार्वजनिक सम्पत्तिमाथि यस्तो क्षति नगर्न आग्रह गरिन्। सिंहदरबारको अवस्था हेर्न पुगेका अधिकांश व्यक्तिहरू भावुक र मौन देखिन्थे। प्राध्यापक बस्यालले सिंहदरबार नेपालको वैभवशाली विकासको प्रमाण रहेको उल्लेख गर्दै बारम्बारको आक्रमणलाई सम्पदा र संस्कृतिमाथिको चुनौतीका रूपमा व्याख्या गरे। उनले यसको पुनर्निर्माणमा ठूलो रकम खर्च हुने भएकाले मुलुकको विकासमा असर पर्ने चिन्ता पनि व्यक्त गरे।

कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कर्मचारी नवराज रिजालले सिंहदरबारको दृश्य असाध्यै पीडादायी रहेको बताए। उनी भन्छन्, "एकदम दुःखदायी अवस्थामा देखियो, यसले अत्यन्तै भावुक र चिन्तित बनायो। सरकारले यसलाई जुन अवस्थामा थियो, सोही अवस्थामा बनाउनुपर्छ।"

पशुपति क्षेत्र विकास कोषका कर्मचारी रामकृष्ण लामिछाने र सिंहदरबारको सुरक्षामा खटिएका जवान एन्जल सुवेदी पनि ऐतिहासिक धरोहर खण्डहर बनेको देखेर निकै दुखी र भावुक भएको बताए।

आइतबारदेखि सिंहदरबारभित्रका विभिन्न मन्त्रालय र निकायका कर्मचारीहरू कार्यालय फर्किएका छन्। आगजनी र तोडफोडबाट प्रभावित भए पनि उनीहरूले नियमित काम सञ्चालन गरेका छन्।

सिंहदरबार राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासका रूपमा सन् १९०३ मा निर्माण गराएका थिए। एक हजार सात सय कोठा रहेको यो भवन त्यसबेला एसियाकै सबैभन्दा ठूलो दरबार थियो। वि.सं. २००७ मा राणा शासनको अन्त्यपछि यो नेपाल सरकारको कार्यालय बनेको थियो। वि.सं. २०३० सालमा आगलागी हुँदा यसको पछाडिको धेरै भाग नष्ट भएको थियो। गोरखा भूकम्पपछि पुनर्निर्माण गरिएको यो भवन पुनः आकर्षक बनेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ