प्रधानमन्त्रीको आक्रोश: सरकारी संस्था जलाउनेलाई नेपाली कसरी भन्ने ? [भिडियो]
संलग्न व्यक्तिहरूलाई अनुसन्धान गरी कारबाहीको दायरामा ल्याइने
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २९ आइतबार
955
Shares
काठमाडौं। अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारमा आइतबार पदभार ग्रहण गरेपछि आयोजित एक कार्यक्रममा मुलुकका अत्यन्त आवश्यक संस्थाहरूमाथि छानीछानी आगजनी गरिएको बताएकी छन्।
उनले सुरक्षा निकाय, अदालत, र प्रशासनिक भवनहरूमा आगजनी हुँदा महत्त्वपूर्ण कागजातहरू नष्ट भएकोमा आफूलाई लाज लागेको बताएकी छिन्। “नेपाली नै भएर यो काम गरेको हो भने तिनलाई नेपाली कसरी भन्ने?” उनले प्रश्न गरिन्। उनले यो घटना देशको इतिहासमा नै पहिलो पटक भएको र यो पूर्वतयारीअनुसार भएको षड्यन्त्र भएको हुन सक्ने आशंका व्यक्त गरेकी छिन्।
प्रधानमन्त्री कार्कीले आगजनीबाट भौतिक संरचनालाई त पुनर्निर्माण गर्न सकिए पनि महत्त्वपूर्ण दस्तावेजहरू सदाका लागि नष्ट भएकोमा चिन्ता व्यक्त गरेकी छन्। उनले यस्तो कार्यमा संलग्न व्यक्तिहरूलाई अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउने पनि जानकारी दिएकी छन्।
जेन-जी आन्दोलनको क्रममा भदौ २४ गते प्रदर्शनकारीले विभिन्न सरकारी संस्था, राजनीतिक दलका कार्यालय, व्यावसायिक प्रतिष्ठान र व्यक्तिहरूको घरमा आगजनी गरेका थिए। यसमा प्रहरी चौकी, सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत र सिंहदरबार लगायतका संरचनामा क्षति पुगेको थियो।