बाजुरा । बाजुरा जिल्लाको गौमुल गाउँपालिका वडा नं ३ को अजयखोलामा बनेको बाजुराकै लामो र अग्लो झोलुङ्गे पुल यहाँका स्थानीयका लागि वरदान सावित भएको छ । झोलुङ्गे पुल बनेपछि यहाँका स्थानीयको घण्टौँ हिँड्नुपर्ने बाध्यताको अन्त्य भएको हो ।
गाउँपालिकाको समन्वय तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आर्थिक सहयोगमा स्थानीय पूर्वाधार विकास कार्यक्रमबाट अजयखोलामा पुल बनेपछि अहिले यहाँका स्थानीय र विद्यार्थीलाई विद्यालय जान निकै सहज हुँदै आएको छ । यो पुललाई ‘भाइरल पुल’ उपनामले पनि चिन्न सकिन्छ ।
करिब दुई सय ६० मिटर लामो झोलुङ्गे पुलले अहिले यहाँका बालबालिकालाई विद्यालयसम्म जान निकै सहज बनाएको हो ।
अहिले पुल निर्माण भएपछि गर्जे, पाते, धल्काँडा, माझपाली लगायत ठाउँका स्थानीयलाई आवतजावतमा सहज हुनुका साथै राष्ट्रबाट प्राप्त हुने सेवा सुविधा लिन वडा कार्यालय र जिल्ला सदरमुकाम मार्तडी सम्म पुग्न सहज भईरहेको स्थानीय गणेशबहादुर धामीले बताए ।
माझपाली र धल्काँडा लगायत गाउँलाई जोड्ने गरी पुल बनेपछि यहाँका स्थानीयलाई ठूलो राहत मिल्दै आएको हो । वडा नं ३ मा चारवटा गाउँ बस्ती छन् । ती बस्तीका झण्डै एक हजार आठ सय बढी जनसङ्ख्याले पुलको सेवा पाइरहेका छन् ।
पालिकाको समन्वय, सहकार्यमा अजयखोलामा झोलुङ्गे पुल बनेपछि अहिले वडा नं ३ का मात्र नभई अन्य वडाका व्यक्तिहरुलाई पनि आउजाउमा सहज हुँदै आएको गौमुल गाउँपालिकाकी उपाध्यक्ष सीता थापाले बताएकी छन् ।
पुलको २०७९ मङ्सिरमा निर्माण सुरु भएर २०८१ वैशाखमा निर्माणको काम सम्पन्न गरिएको थियो ।
उक्त पुल निवर्तमान प्रतिनिधि सभा सदस्य लालबहादुर थापाले उद्घाटन गरेका थिए ।
पुल बनेर सञ्चालनमा आएता पनि स्थानीय कामदारले पैसा नपाएको गुनासो गरेका छन् । स्थानीयले काम गरेको पैसा अझै उनीहरुले पाउन सकेका छैनन् ।
रकम भुक्तानी नहुँदा समस्या भइरहेको अंसमन चन्द्रोदय जेवी निर्माण कम्पनी धनगढीका प्रतिनिधि तथा प्राविधिक चेतन दाहालले बताए ।
कार्यलयबाट ५६ लाख ३० हजार भुक्तानी बाँकी रहेकाले कामदारको पैसा तिर्न नसेकेको उनले जानकारी दिए ।