काठमाडौं। नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री पदमा सुशीला कार्की नियुक्त भएकामा संयुक्त राज्य अमेरिकाले स्वागत गरेको छ। यहाँस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै गत हप्ताको दुःखद घटनाहरूपछि प्राप्त यो शान्तिपूर्ण समाधानलाई सकारात्मक कदम भनेको छ।
दूतावासले लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताका लागि राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको प्रशंसा गरेको छ। साथै, दुःखद समयमा नेपालसँग रहेको भन्दै शोकमा साथ दिएको पनि उल्लेख गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “हामी नेपाली सेना र प्रधानसेनापति अशोकराज सिग्देललाई संक्रमणलाई सहज बनाउँदै शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनर्स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा सम्मान गर्दछौँ।”
अमेरिकी दूतावासले अन्तरिम सरकारले आगामी महिनाहरूमा नयाँ निर्वाचनको तयारी गर्ने क्रममा नेपालसँग सहकार्य गर्न तयार रहेको पनि जनाएको छ। राष्ट्रपति पौडेलले पूर्वप्रधानन्यायाधीश कार्कीलाई यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।