गाजा पट्टीमा इजरायली आक्रमण तीव्र, ४५ जनाको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २९ आइतबार
1.7k
Shares
काठमाडौँ । गाजा पट्टीका विभिन्न भागमा इजरायली सेनाले गरेको आक्रमणमा परी कम्तीमा ४५ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको सरकारी समाचार संस्था वाफाले जनाएको छ। आवासीय क्षेत्रहरूमा व्यापक भौतिक संरचनाको विनाश भएपछि मृत्यु हुनेको संख्या बढेको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन्।
पछिल्ला केही दिन यता इजरायली सेनाले गाजा सहरमा आफ्नो कारबाहीलाई विस्तार गर्दै बासिन्दाहरूलाई बस्ती छोड्न चेतावनी दिएको छ। यसबाट विस्थापितहरूलाई आश्रय दिने विद्यालय र आवासीय भवनहरू भरिभराउ भएका छन्। गाजाको नागरिक सुरक्षा निकायले आक्रमणमा दर्जनौंको मृत्यु भएको र सयौं घाइते भएको जानकारी दिएको छ।
इजरायली सेनाले "गाजामा व्यापक भौतिक संरचनाको विनाश" गरी शहर खाली गर्न खोजेको बताएको छ। हमास नियन्त्रित गाजाको सरकारी मिडिया कार्यालयका अनुसार अगस्ट ११ मा आक्रमण सुरु भएयता इजरायली सेनाले १,६०० भन्दा बढी आवासीय भवन र १३ हजार टेन्टहरू ध्वस्त पारेको छ। यसले ३ लाख ५० हजारभन्दा बढी मानिसलाई पूर्वी गाजा शहरबाट मध्य र पश्चिमी क्षेत्रमा भाग्न बाध्य पारेको छ।
इजरायली सेनाका प्रवक्ता अविचे अद्राईले शनिबार करिब २ लाख ५० हजार बासिन्दाले "आफ्नो सुरक्षाका लागि" गाजा शहर छोडेको बताएका छन्। उनले गाजा शहर "खतरनाक युद्ध क्षेत्र" बनेको र हमासलाई पराजित गर्न सेना प्रतिबद्ध रहेको बताए।
यसैबीच, गाजाको नासिर मेडिकल सेवाका बाल चिकित्सा विभागका प्रमुख अहमद अल-फाराले चिकित्सा उपकरण र पौष्टिक खानाको गम्भीर अभाव भएको भन्दै कुपोषित बालबालिकाको संख्या अस्पतालको क्षमताभन्दा बढी रहेको र मृत्यु बढ्न सक्ने चेतावनी दिएका छन्।
प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघीय राहत तथा कार्य निकाय (UNRWA) ले गाजा शहरको अवस्थालाई "विनाशकारी" भनेको छ। UNRWA ले जारी गरेको विज्ञप्तिमा "पूर्व चेतावनी बिना जताततै हवाई आक्रमण जारी रहेको" र "मानिसहरू जाने कुनै सुरक्षित स्थान नभएको" उल्लेख गर्दै यो युद्ध रोक्न आग्रह गरिएको छ।
सन् २०२३ अक्टोबर ७ मा हमासका लडाकुहरूले दक्षिणी इजरायलमा आक्रमण गरेपछि सुरु भएको युद्धमा हालसम्म गाजामा लगभग ६५,००० प्यालेस्टिनीहरूको ज्यान गएको गाजा क्षेत्रका स्वास्थ्य अधिकारीहरूले बताएका छन्।