जेन-जीको आन्दोलनपछि देशको राजनीतिमा विभिन्न खाले फरक मत देखिन लागेका छन् । नेपाल आजसम्म कुनै पनि अप्रिय साम्प्रदायिक घटनाको सिकार भएको छैन । अहिलेको अवस्थामा विभिन्न खाले तत्वहरू सीमित स्वार्थमा सल्बलाउन खोज्नु स्वभाविकै हो ।
नेपाल विश्वमा धेरै कुराले चिनिएको छ । अन्य देशमा संकट पर्दा होस् वा शान्ति कायम गर्न वीर गोर्खाली आवश्यक पर्ने नेपाली सेना विवेकपूर्ण छ । आफ्नो साख कायम गर्न पनि सेना गम्भीर भएर वुद्धिविवेकसँग निकास खोज्न सफल भएको छ ।
नेपालको वर्तमान राजनीतिक अवस्था, सेना र शान्तिको बाटो
जेन–जीको आन्दोलनपछि नेपालको राजनीति नयाँ मोडमा प्रवेश गरेको छ । पुराना नेताहरूको आत्मकेन्द्रित सोच र नयाँ पुस्ताको परिवर्तनको आकांक्षाबीच अब देश निर्णायक मोडमा छ । नेपाल आजसम्म अप्रिय साम्प्रदायिक द्वन्द्वको ठूलो सिकार नभए पनि विभिन्न तत्वहरू सीमित स्वार्थका लागि सल्बलाउन थालेका छन् । यस्तो अवस्थामा समाधान संवैधानिक, विवेकपूर्ण र सबैलाई समेट्ने खालको हुन जरूरी छ ।
नेपाली सेनाको ऐतिहासिक योगदान :
नेपालले विश्वमा आफ्नो पहिचान साहस र शान्तिप्रेमी भूमिकामार्फत स्थापित गरेको छ। संयुक्त राष्ट्र संघको सदस्य बनेपछि नेपालले सन् १९५८ मा लेबनानमा पहिलो पटक पाँच जना सैन्य निरीक्षक पठाएर शान्ति मिसनमा सहभागी भएको थियो । त्यसयता निरन्तर रूपमा नेपालले शान्ति सेनामा योगदान दिँदै आएको छ ।
हालसम्म नेपालले ४० भन्दा बढी संयुक्त राष्ट्र संघीय शान्ति मिसनहरूमा सहभागिता जनाइसकेको छ । हाल पाँच हजार भन्दा बढी नेपाली शान्ति सैनिकहरू विश्वका १० भन्दा बढी मुलुकमा तैनाथ छन् । २०७२ सालको गोरखा भूकम्पपछि नेपाली सेनाले “संकटमोचन अपरेशन” सञ्चालन गरी हजारौँ जनताको जीवन उद्धार गरेको थियो । यी तथ्यहरूले नेपालको सेना केवल सीमानाको सुरक्षा गर्ने मात्र नभई, विश्व शान्ति र राष्ट्रिय संकट दुवैमा महत्त्वपूर्ण अवयव रहेको पुष्टि गर्छ ।
आजको पुस्ता पारदर्शी, जवाफदेही, समान अवसर र न्यायको अपेक्षा राख्छ । पुराना नेताहरूले आफूलाई मात्र सर्वेसर्वा ठान्ने प्रवृत्ति र आफू नभए देश दुर्घटनाको दिशामा जान सक्छ भन्ने आत्मरतिले यो स्थितिमा पुर्याए । नयाँ पुस्ताले पनि केवल विरोध वा अन्ध समर्थनमात्र नगरी विवेकपूर्ण नेतृत्वमा ध्यान दिन आवश्यक छ ।
नयाँ नेपालको निर्माण गर्ने जिम्मेवारी नयाँ पुस्तामाथि पनि आएको छ । हिजोको इतिहासमा उपेक्षित विषयहरू पुनः जागृत भएका छन् । अहिलेको स्थिति सृजना हुने प्रमुख कुरा देशमा भएको बेथिति, भ्रष्टाचार, दलगत नियुक्ति, अनर्गल अभिव्यक्ति प्रमुख हुन् । नेतामा परिवर्तन स्वीकार गर्न नसक्ने प्रवृत्ति यसको प्रमुख कारक हो ।
शीर्ष नेताको अभिव्यक्ति कार्यकर्तालाई दलको कानून जस्तो लाग्नुले नयाँ पुस्तालाई दलप्रति चरम वितृष्णामा पुर्याउने काम गर्यो । नेताहरू डिजिटल युगको कुरा गरे पनि आजका जेन-जीमा सही गलत छुट्टाउने सामर्थ्य छ भन्ने अनुमान गर्नबाट चुके । अब पुन: सोही गल्ति दोहोर्याउन हुँदैन । देशमा अब पुनःक्रान्ति थेग्ने सामर्थ्य छैन । लगभग सबै कुरा स्वाहा भैसकेका छन् ।
अब बन्ने नयाँ नेपालमा रोक्नु पर्ने कुराः
-दलगत स्वार्थ र संसदको अस्थिरता
-भौगोलिक–सामाजिक असमानता
-छिमेकी मुलुकसँगका संवेदनशील कूटनीतिक प्रश्न
-बेरोजगारी र युवाको पलायन
अग्रगामी नयाँ नेपालमा आउने थुप्रै चुनौतीहरूलाई सामना गर्न संविधानको सम्मान, संस्थागत मजबुती र उत्तरदायी नेतृत्व अपरिहार्य छ । राणा कालदेखि आजसम्म प्राप्त भएको एतिहासिक उपलब्धि, अभिव्यक्ति स्वतन्त्रता हो । जुन पुराना पुस्ता तथा कयौँ शहीदको बलिदानले नयाँ पुस्तामा पुस्तान्तरण भएको हो । जसलाई बेवास्ता गर्न मिल्दैन ।
नेपालकै इतिहासकी पहिलो महिला प्रधानन्याधीश एवं पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीप्रति धेरैको विश्वास छ । जेन-जीबाटै चुनिएर आएकी उनी नेतृत्वको अन्तरिम सरकार निम्न कुरामा चनाखो हुनुपर्छ :
संवाद र सहभागिता – नयाँ पुस्ताको आवाजलाई राज्य संरचनामा स्थान दिनुपर्छ ।
जवाफदेही नेतृत्व – पुराना नेताले अनुभव साझा गर्नुपर्छ तर सत्ता केन्द्रीकृत हुनु हुँदैन ।
संविधान र कानूनको पालना – राजनीतिक निर्णय प्रक्रिया कानूनी आधारमा मात्र हुनु जरुरी छ ।
सेनाको विवेकपूर्ण प्रयोग – सेना आन्तरिक राजनीतिमा होइन, राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय शान्ति भूमिकामा सीमित रहनुपर्छ ।
सामाजिक न्याय र आर्थिक समानता – सबै वर्गलाई समान अवसर दिने नीति कार्यान्वयन गर्नुपर्छ ।
जननिर्वाचित सरकारको लागि निष्पक्ष निर्वाचन ।
हामी स्वाभिमानी नेपाली हौँ । हामीलाई विश्वले केवल 'बहादुर गोर्खाली' भनेरमात्र होइन, शान्ति स्थापनाकर्ता भनेर पनि चिन्छ । अहिलेको अवस्थामा पुराना र नयाँ पुस्ता दुवैले विवेक प्रयोग गर्नुपर्ने बेला हो ।
पुराना नेताले सत्तामोह त्यागेर नयाँ पुस्तालाई अवसर दिनुपर्छ भने नयाँ पुस्ताले पनि जिम्मेवार नेतृत्व देखाउनु पर्छ । सेना र बौद्धिक वर्गबीच सहकार्य गर्दै नेपालले राजनीतिक स्थायित्व, सामाजिक न्याय र शान्तिपूर्ण विकासको बाटो समात्न सक्छ । (लेखक गौतम व्यावसायिक तथा प्रविधि विज्ञ हुन्)