जेन-जीहरूले पद, सत्ता, शक्तिभन्दा टाढा रहेर देश बनाउने अभियानमा लाग्नुपर्छ, रोजगार र शिक्षा प्राप्तिकै लागि विदेश जाने परम्परा रोकी नेपालकै माटोलाई जतिसक्यो मलजल गर्न लाग्नुपर्छ
राजेन्द्र पन्थी,
प्रकाशित २०८२ भदौ २८ शनिबार
1.1k
Shares
यतिबेला देश शोक, भोक र दु:खमा छ । भर्खरै देशले अप्रत्याशित रुपमा ठूलो जनधनको क्षति बेहोर्नु पर्यो । इतिहासका पानामा विश्वमा भएका ठूल्ठूला द्वन्द्व, युद्ध र विध्वंसका घटनाहरू सुन्दा, पढ्दा, हेर्दा आङ नै सिरिङ हुन्थ्यो । आज यस्तै घटना यी आँखाले आफ्नै देशमा देख्न पर्यो । यति ठूलो जनधनको क्षति हुँदा मन भक्कानिएको छ । भावविह्वल भएको छ। शब्द मार्फत अभिव्यक्ति गर्न अत्यन्तै कठिन भइरहेको छ ।
विद्यालय पढ्न गएका छोराछोरी सरहका कलिला निहत्था विद्यार्थीहरूले अकालमा ज्यान गुमाएका छन् । कतिपय युवाहरू अस्पतालहरूमा छट्पटाइरहेका छन् भने सार्वजनिक र निजी सम्पत्तिको ठूलो क्षति भएको छ । मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली र घाइतेहरूप्रति शीघ्र स्वास्थ्य लाभको कामना । मृतकका परिवारप्रति समवेदना। यति धेरै जनको क्षति भएको त कसरी हिसाबकिताब गर्नु । पुन:वर्षैाँ ऋणमा डुब्ने गरी निजी र सार्वजनिक सम्पदा र सम्पत्तिहरू क्षति भएका छन् । तिनलाई निर्माण गर्नुछ । शोकलाई शक्तिमा बदल्नु पर्नेछ ।
एउटा शासक सत्ता र शक्तिको उन्मादमा कति हदसम्म अपराध कर्म गर्न सक्छ भनेर विश्वमा निरो र हिटलरका घटना अनि नेपालमै पनि धेरै इतिहासका पाठ पढिएका थिए । सन् ६४ मा रोमका सम्राट निरोले सत्ताको उन्मादमा रोमका सयौँ नागरिकलाई आगोका लप्कामा जलाएका थिए । त्यस्तै दोस्रो विश्वयुद्धमा जर्मन शासक हिटलरले सत्ताको उन्मादमा लाखौं यहुदीलाई एकै चिहान बनाएका थिए । विश्वमा कतिपय शासकहरू सत्ताको उन्मादमा पागल नै भएका कुराहरू इतिहासका थुप्रै घटनाहरूबाट थाहा पाउन सकिन्छ।
नेपालमा पनि गत भदौ २३ र २४ एउटा कालो दिनको रुपमा इतिहासमा रह्यो । भदौ २३ गते सरकारले जुन बर्बर आतङ्क मच्चायोत्यो घटना प्रधानमन्त्री खड्गप्रसाद ओलीको सत्ता र शक्तिमा रहँदाको अहम् र अहङ्कारको पराकाष्ठा र पागलपन नै थियो । नेपालको इतिहासमा खड्गप्रसाद ओली क्रुर अपराधीका रुपमा लेखिए । जनताको मतबाट पटकपटक देशको कार्यकारी प्रमुख बनेका केपी ओलीको यो पापकर्म जतिसुकै शुद्धाउन खोजे पनि कहिल्यै पखालिने छैन र सायद उनको आत्माले कहिल्यै शान्ति पनि पाउने छैन ।
लोकतन्त्रमा शान्तिपूर्ण आन्दोलन गर्न पाउनु हरेक नागरिकको अधिकार हो । जेन-जीहरूले सरकारलाई समयमै जानकारी गराई आन्दोलन गरेका थिए । सरकारले प्रदर्शन रोक्न गोली नै बर्साउने जुन प्रयत्न गर्यो त्यो अत्यन्तै अमानवीय, अक्षम्य, क्रुर र अपराधी क्रियाकलाप थियो । सायद सरकारले यति हदसम्मको बर्बरता नमच्चाएको भए देशले यति ठूलो क्षति बेहोर्नुपर्ने थिएन । लोकतन्त्रमा सार्वभौम भनेका जनता नै हुन् । जनताभन्दा सर्वोच्च संस्था अरु हुँदैन ।
नेपालमा लोकतन्त्र आएको ३६ वर्ष बित्दासमेत जनता वास्तवमा सार्वभौम हुन सकेनन् । राजनीतिक नेतृत्वले लोकतन्त्रका नाममा लुटतन्त्र मच्चाए । जनतामा आफूले चाहे अनुसार परिवर्तनको अनुभूति गर्न नपाउँदा उकुसमुकुस र आक्रोशका ज्वालाहरू थामिनसक्नु नै थिए । नेतृत्वलाई बारम्बार सच्चिन आग्रह गर्दा सुन्दै सुनेनन् । ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्डले देशलाई व्यक्तिगत कम्पनी जस्तो बनाएर देशलाई बन्धक बनाई खोक्रो बनाए ।
राजनीतिमा विचार, आस्था, सिद्धान्तलाई पोलेर खाए । ३६ वर्षमा विकृति र विसंगतिका कुनै काम गर्न बाँकी राखेनन् । सांसद किनबेचदेखि पुरुष सांसदले सुत्केरी भत्ता बुझ्नेसम्मका घटना, माओवादी सशस्त्र युद्धको भयावह, भ्रष्टाचारका हजारौँ काण्डैकाण्ड, अपराधका घटनै घटना, दलहरूका बिचको फोहरी र दुर्गन्धित खेल अनि पछिल्लो चरणमा ओलीको अहंकार र दम्भको पराकाष्ठासम्म देशले भोग्यो । नेतृत्वले जनताका समस्या, आवाज, आक्रोश चित्कारलाई सुन्दै सुनेनन् । अन्ततः अति नै असह्य भएपछि जेन-जी पुस्ता आन्दोलनमा उत्रिन बाध्य भयो । अनि नसोचिएको पाराले आज ठूलो मानवीय र भौतिक क्षतिसहित पुरानो संरचना गर्ल्यामगुर्लुम ढल्यो ।
भदौ २४ गतेको दृश्यलाई नियाल्दा एक दिनभरि त देश राज्यविहीन नै बन्यो । राज्य साँच्चै नै शून्यमा पुग्यो । सायद राजनीति हस्तक्षेपका कारण सरकारको आदेश र निर्देशनमा चल्ने गरेका सरकारी अङ्गहरू सरकार ढलेपछि पानी बिनाको माछोजस्ता भए कि जस्तो लाग्यो । एक नेपाली सर्वसाधारण नागरिकको दृष्टिमा आखिर आपतकालीन अवस्थामा राज्य पनि हुँदो रहेनछ भन्ने लाग्यो । नेपालको आन्तरिक सुरक्षा अत्यन्तै कमजोर र स्वतन्त्र रहेनछ भन्ने देखियो । कर्मचारी प्रशासन, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी अधिकारविहीन जस्ता भए ।
सबै सुरक्षा निकायहरू मूकदर्शक बने । देशको राजधानीमा एकपछि अर्को यति ठूलो धनजनको क्षति हुँदा सुरक्षा संरचनाहरूले काम नै गरेनन् । सुरक्षा संरचना भनेको देश र जनतालाई अप्ठेरो पर्दा चाहिएला भनेर बनाएको हो । गृह मन्त्रालय र रक्षा मन्त्रालयको सबैभन्दा पछिल्लो वार्षिक बजेट हेर्दा क्रमशः २ खर्ब ८ अर्ब अनि ६० अर्ब १२ करोड देखिन्छ । जनताको गाँस कटाएर यति धेरै खर्च गरेर बनाइएका सुरक्षा अङ्गहरू आगो लागेको घरमा तपाउन र खरानी धसाउनको लागि त पक्कै होइन ।
जेन-जीका नाममा घुसपैठ गरेका प्रदर्शनकारीले सरकारी वा निजी सम्पत्तिमा आगो लगाउँदा सेना र पुलिस साक्षी बसिरह्यो । कुनै पनि आन्दोलन एकै पटक उत्कर्षमा पुग्दैन । हरेक आन्दोलनकारीले बाहिर जस्तोसुकै अभिव्यत्ति दिए पनि भित्री रुपमा उनीहरूलाई बाँच्ने चाहना हुन्छ । आन्दोलन रोक्ने थुप्रै प्रोटोकल हुन्छन् । सायद नेपाली सेनाले राति १० बजेपछि जुन कदम चाल्यो त्यही कदम १०/१२ घन्टा अगाडि चालिदिएको भए आज देश यसरी खरानी हुने थिएन ।
सेनाले जानी जानी नै कदम चाल्न ढिला गरेको स्पष्टै भयो । २३ गते नै जब कर्फ्यु लगाइयो तब सेनालाई बाहिर निस्कन छुट थियो । फेरि के हेरेर बस्यो होला ? सम्भवतः सेनालाई लाग्यो यो त केपी ओलीको सरकार हो । ओलीको आदेश किन मान्ने ?
सेना तमासे हुँदा मुलुकको प्रमुख संरचना खरानी भयो । हुनत पुरानो खरानी भएर पो नयाँ पुन:निर्माण हुने भयो भन्ने मत पनि कसैको होला तर अहिलेको आन्दोलनको माग पक्कै पनि देशलाई यसरी ध्वस्त बनाएर पुनःनिर्माण नै गर्नु भन्ने थिएन । जेन-जीका माग भनेका राजनीतिक नेतृत्वलाई बहिर्गमन गर्नुपर्ने र भ्रष्टाचारीलाई कानुनको अधिनमा ल्याई हदसम्मको कार्बाही गर्नुपर्छ भन्ने नै थिए ।
कुनै सर्वसाधारण नेपालीले म असुरक्षित भएँ, घरमा आगो लाग्यो वा कुनै प्राकृतिक विपत्ति आइलाग्यो भन्दा सुरक्षा अङ्गहरूले कानूनका पाना पल्टाएर बस्ने कि जनताको जिउधनको सुरक्षा गर्ने भन्ने महत्त्वपूर्ण प्रश्न उठेको छ। भदौ २४ को घटनामा नेपालका सुरक्षा अङ्गहरू कानूनी रुपमा कति सफल र सक्षम थिए त्यो विस्तारै आउला तर सामाजिक र मानवीय दृष्टिकोणले अविवेकी, संवेदनाहीन भने देखिए । यस्तो आपतकालीन समयमा सुरक्षा दिने संस्थाहरूलाई स्वतन्त्र, बलिया र विवेकी बनाउनु पर्छ ।
वास्तवमा जुनसुकै विषयको क्रियापछि प्रतिक्रिया हुन्छ। सायद २४ गतेको यति ठूलो विध्वंस हुनु २३ गतेको क्रिया नै थियो ।सरकारले घोषित रुपमा युवा र विद्यालयकै पोशाकमा शान्तिपूर्ण आन्दोलनमा उत्रिएका तन्नेरी पुस्ताका विद्यार्थीहरूलाई ताकीताकी छाती र टाउकोमा गोली हानेर मार्नु अक्षम्य र अपराधी कार्य गर्यो। यस्तो बेलामा सुरक्षा निकाय थप आतंक नमच्चियोस् भन्नका लागि निकै उच्च सतर्क हुनुपर्थ्यो तर त्यो देखिएन ।
कुनै पनि विपत्ति वा विध्वंश पहिले नै घोषणा गरेर आउँदैन । यस्तो आपद् जुनसुकै बेला पनि आउन सक्छ भनेर सुरक्षा अङ्ग बनाइएको हुन्छ । त्यो जतिबेला पनि सतर्क भएर बस्नुपर्नेमा भदौ २४ को घटनामा बसेको देखिएन । राजधानीमा राज्यका यति धेरै अवयव र संरचना हुँदा यस्तो किसिमको आतङ्क र विध्वंश हुन्छ भने देशको अन्यत्र ठाउँमा झन् कस्तो असुरक्षा होला ? सहज अनुमान गर्न सकिन्छ ।
भदौ २४ को घटनाका सम्बन्धमा सुरक्षा अङ्गहरूले प्रदर्शनकारीहरूको सङ्ख्या आँकलन भन्दा बाहिर गयो भनेर उम्किने ठाउँ नै छैन । सामान्यतया अहिलेको आन्दोलनमा कति जना सडकमा उत्रिन सक्छन् भन्ने कुरा सजिलै आँकलन गर्ने कुरा थियो ।
आजको युग कटुवाल प्रथा, माइकिङ, पोस्टर र पम्पलेटको युग होइन। सबैका हातमा सञ्चारका साधन छन्। सेकेन्ड सेकेन्डमा नयाँ नयाँ सूचना सम्प्रेषित भइरहेका थिए । सरकार सामाजिक संजाल बन्द गरेपछि जेन-जी मात्र नभएर जेन-जीका हजुरबुवाआमा पुस्तासमेत सरकारसित अत्यन्तै रुष्ट थिए ।
प्रचण्ड, रवि लामिछाने, वालेन्द्र साह (बालेन) हरूका सामाजिक संजालका स्टाटसले जेन-जी मात्र होइन,अधिकांश जनताहरू सूचनामा अद्यावधिक थिए । ती स्टाटसले आन्दोलनको लागि प्रेरित गरिरहेका थिए । यो आन्दोलनमा घुसपैठ कहाँबाट कसरी भयो भन्ने कुरा आउने नै छ । यो आन्दोलनलाई सरकारमा रहेका दल बाहेक प्रायः सबैले समर्थन गरेकै थिए ।
माओवादी, राप्रपा र रास्वपा आदि दलहरू विगत एक वर्षदेखि आन्दोलनमै थिए । रविको सहकारी काण्डपछि एकथरी मानिसहरू यो सरकारप्रति अत्यन्तै आक्रोशित थिए । राजावादीको चैत १५ गते भएको असफल आन्दोलनको तुस बाँकी नै थियो । तन्नेरीपुस्ता मात्र होइन, युवापुस्ताहरू पनि सरकारप्रति यति धेरै आक्रोशित थिए कि पोख्ने ठाउँ खोजिरहेका थिए । आन्दोलनको घोषणा कुनै संगठित समूहले नगरेको हुनाले प्रदर्शन नियन्त्रण बाहिर जाने र घुसपैठ हुने सम्भावना प्रशस्त थियो भनेर सहजै अनुमान गर्न सकिन्छ । सुरक्षा निकायहरू कहाँ कति चुके वा सफलै भए भन्नेछ भने पनि समीक्षा गरी सर्वसाधारणले थाहा पाउनु पर्छ ।
जेन-जी भनेका आमाको गर्भदेखि नै डिजिटलसित जोडिएका पुस्ता हुन् । नेपालको यो पुस्ता भनेको देशमा रोजगार नपाएर हजुरबुबादेखि बुबापुस्तालाई समेत देश बाहिर पठाएर आफू पनि बाहिरिन तयार भएको पुस्ता हो । पछिल्लो चरणमा यो पुस्ताले सामाजिक संजाललाई भरपुर प्रयोग गरेको थियो । सामाजिक संजाल मनोरञ्जनको साधनदेखि लिएर सूचना, ज्ञान र आय आर्जनको श्रोत पनि बनेको थियो । यस्तो बेलामा सरकारले कुनै विकल्प बिना जबर्जस्त बन्द गर्नु हुँदैनथ्यो । यद्यपि कानूनी प्रक्रियामा आउनु हुँदैन भन्न खोजेको होइन ।
अहिलेको विश्वव्यापीकरणको युगमा नवपुस्ताले विश्वलाई हेरेको छ,पढेको छ । यो पुस्ताले बंगलादेश, श्रीलंका, इन्डोनेसिया र फिलिपिन्स आदि देशका डिजिटल र फिजिकल आन्दोलन र विद्रोह परिचित थियोे।पछिल्लो समय फिलिपिन्सको नेपोबेबी अभियान अत्यन्तै भाइरल हुँदा यसको प्रभाव नेपालको डिजिटल दुनियाँमा बढिरहेकै थियोे।यति गर्दा पनि नेतृत्वले सुन्दै नसुनेपछि बाध्य भएर शान्तिपूर्ण तरिकाले आन्दोलनका लागि सडकमा आएको थियोे र यो आन्दोलनमा अहिले सफल भएको पनि देखिन्छ।अब यो आन्दोलनलाई निष्कर्षमा पुर्याउनु अहिलेको प्रमुख चुनौती भने छँदैछ ।
अब जेन-जीहरूले पुरानो शैलीलाई अपनाएर प्रतिशोधको राजनीति गरिनु हुन्न । अब देशलाई लोकतान्त्रिक लयमा ल्याउनु पर्छ । आन्दोलनको नाममा भदौ २४ मा उपद्रव मच्चाउने, आगो लगाउने, चोरी, डकैती गर्ने अनि सबै किसिमको जनधनको क्षति गर्नेलाई कानूनी कार्बाही गरी असुल उपर गर्नुपर्छ ।
अधिकारयुक्त उच्चस्तरीय भ्रष्टाचार छानबिन आयोग बनाई २०४६ पछिका सम्पूर्ण भ्रष्टाचारीलाई कानून अनुसार कार्बाही गर्नुपर्छ । जेन-जीहरूले पद, सत्ता, शक्तिभन्दा टाढा रहेर देश बनाउने अभियानमा लाग्नुपर्छ । रोजगार र शिक्षा प्राप्तिकै लागि विदेश जाने परम्परा रोकी नेपालकै माटोलाई जतिसक्यो मलजल गर्न लाग्नुपर्छ । विदेशमा रहेको दक्ष, अनुभवी नेपालीलाई देश फर्काउने अभियान ल्याउनुपर्छ । स्वदेशी वा विदेशी शक्तिले हिलो पानीमा माछा मार्ने प्रयत्न जतिबेला पनि गर्न सक्छन्, निकै सतर्क हुनुपर्छ।
लोकतन्त्रको विकल्प अरु तन्त्र हुनै सक्दैनन् । लोकतन्त्रको विकल्प अझै उन्नत लोकतन्त्र नै हो । एकछिन समृद्ध नेपाल बनाउन सम्पूर्ण नेपाली मनवचनकर्मले लागौँ । हाम्रो सपना पक्कै पूरा हुनेछ । आशा गरौँ जेन-जीहरूले नेतृत्व गरेको यो अभियान पक्कै सफल हुनेछ । भोलिको जेनअल्फा पुस्ताले सुन्दर र समृद्ध नेपाल मात्र भोग्न पाओस् । जेन-जीको कामको गुण र दोषका आधारमा रचनात्मक र सिर्जनात्मक समर्थन, टीकाटिप्पणी, आलोचना र विरोध भने भइरहनेछ । अन्त्यमा, शुभकामना जेन-जीहरू ! (लेखक पन्थी अमेरिकाको भर्जिनियामा कर्मरत छन्)