गगन थापा भन्छन् - जेन-जीको मागलाई सम्बोधन नगरी देश अघि बढ्न सक्दैन [भिडियो]
यसअघि पार्टीको विधान जस्तो बनाइएको छ त्यो अब आवश्यक नभएको, पार्टीका लाखौँ सदस्यबाट नै नेतृत्व छान्न सकिए पार्टी नागरिक र कार्यकर्तातर्फ फर्किने र यसले नयाँ उत्साह ल्याउने दाबी
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २७ शुक्रबार
1k
Shares
काठमाडौँ । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले जेनजी आन्दोलनकारीहरुको मागलाई सम्मान गर्दै सम्बोधन गरेरमात्र देश अगाडि बढ्न सक्ने बताएका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत एक भिडियो सार्वजनिक गर्दै उनले जेन-जीहरुको मागलाई सम्बोधन नगरि देश अगाडि बढ्न नसक्ने भन्दै नेपाली काङ्ग्रेस पार्टी जेनजीहरुले छानेको नेतृत्वमा सरकार बनाउने कुरामा तयार रहेको बताए ।
उनले भने, ‘यो बेला जेन-जी आन्दोलनकारी साथीहरुले के कुराको माग राख्नु भएको छ त्यो मागलाई सम्मान गरेर सम्बोधन गरेर मात्र देश अगाडि बढ्न सक्छ । अन्तरिम सरकार बनाउने कुरा छ, आज साँझसम्म त्यो कुरा पनि टुङ्गो लाग्न सक्छ । आन्दोलन गर्ने साथीहरुले छानेको नेतृत्वमा सरकार बनाउने कुरामा नेपाली काङ्ग्रेस पार्टी तयार मात्र होइन यसको लागि आवश्यक वातावरण पनि बनाइरहेको छ ।’
यस्तै, उनले काङ्ग्रेस पार्टीमा रहेका सबै कार्यकर्ता लाई आफ्नै ठाँउबाट सबैलाई जोड्ने तरिकाको पहलकदमी गर्न आग्रह गरेका छन् ।
उनले भने, ‘अहिले नेपाललाई एउटा हिलिङ चाहिएको छ । सबैलाई जोड्ने एउटा पहलकदमी चाहिएको छ । काङ्ग्रेस पार्टीको जिम्मेवारी हो किनभने राष्ट्रिय शक्ति हो । त्यसकारण म पार्टीका साथीहरुलाई आह्वान गर्छु । जो जहाँ हुनुहुन्छ आफ्नै ठाउँ बाट सबैलाई जोड्ने तरिकाको पहलकदमी गर्न आग्रह गर्न चाहन्छु ।’
उनले भदौ २३ र २४ गते भएको घटनाबाट आँकलन गर्न नसक्ने ठूलो क्षति भएको भन्दै त्यो दिनको घटनाले अनुहारमा लागेको दाग ऐना पुछेर नजाने बताए ।
उनले भने, ‘भदौ २३ गते हामी कसैले नचाहेको अकल्पनीय घटना भयो । तपाईं र म सरकारमा थिएनौँ । तर हाम्रो पार्टी सरकारमा थियो । हाम्रो अनुहारमा दाग लागेको छ । ऐना पुछेर हुँदैन, हामीले हाम्रो दाग पुछ्नुपर्छ । कांग्रेस पार्टी यस विषयमा सिंगो देशसँग माफी माग्नुपर्छ, यो घाउलाई पुर्ने हामीले कोसिस गर्नुपर्छ । भदौ २४ गते यति ठूलो क्षती भएको छ जसको कसैले आकलन गर्न सक्दैन् ।’
महामन्त्री थापाले नेपाली कांग्रेस सबै पक्षलाई एकताबद्ध भएर साथमा लिएर हिंड्न तयार रहेको स्पष्ट पारे ।
नेपाली कांग्रेसलाई नेपाली समाजलाई दलीयकरणबाट जोगाउन लाग्ने उनले प्रतिवद्धता जनाए । साथै उनले कांग्रेस पार्टीको पुनर्संरचना गर्न आवश्यक रहेको भन्दै उनले पार्टी सदस्य गुट उपगुटमा छिरलिएर बसेको र पार्टी गुट उपगुटमा छियाछिया भएको बताए । पार्टीको यस्तो हविगत आफूहरुले नै बनाएको भन्दै थापाले यसलाई अब बदल्नै पर्नेमा जोड दिए ।
यसअघि पार्टीका विधान जस्तो बनाइएको छ त्यो अब आवश्यक नभएको भन्दै उनले पार्टीका लाखौँ सदस्यबाट नै नेतृत्व छान्न सकिए पार्टी नागरिक र कार्यकर्तातर्फ फर्किने र यसले नयाँ उत्साह ल्याउने दाबी गरे ।