काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले देशभरको मौसम सामान्यतया बदली रहनेछ।
महाशाखाले आज दिउँसो देशका पहाडी भू-भागका केही स्थान र तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। त्यस्तै, कोशी, गण्डकी (पहाडी), लुम्बिनी, र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराईका एक-दुई स्थानमा भारी वर्षा को पनि सम्भावना रहेको छ।
यसैगरी, आज राति पनि कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र कर्णाली प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।