भदौ २४ को आगजनीका कारण ‘भायानेट’ को डाटा केन्द्र प्रभावित
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २६ बिहिबार
934
Shares
काठमाडौं। भायानेटले इन्टरनेट र टेलिभिजन सेवामा आएको अवरोधबारे माफी माग्दै आगजनीका कारण डाटा केन्द्रमा क्षति पुगेको जानकारी गराएको छ।
भदौ २४ गते साँझ करिब ४:४५ बजे प्रदर्शनका क्रममा लागेको आगोले सेन्ट्रल व्यवसायिक पार्कको चौथो तलामा रहेको (जहाँ कान्तिपुर मिडिया समूहको भवन समेत छ) भायानेटको प्रमुख डाटा केन्द्रमा ठूलो क्षति पुर्याएको थियो। यद्यपि कम्पनीसँग वैकल्पिक डाटा केन्द्रहरू भए पनि अचानक मुख्य संरचना गुमाउँदा ती पर्याप्त नपरी देशभर सेवामा अवरोध आएको कम्पनीले जनाएको छ।
भवन असुरक्षित भएकाले प्रारम्भिक प्रयासमा प्राविधिक टोली तत्काल प्रवेश गर्न नसके पनि वैकल्पिक डाटा केन्द्रमार्फत आंशिक रूपमा इन्टरनेट सञ्चालन गरिएको थियो। तर, धेरै ग्राहक प्रभावित रहँदा टेलिभिजन सेवा तत्काल सुचारु गर्न सकिएन।
भदौ २५ गते बिहान सेना र प्रहरीले आगो नियन्त्रणमा ल्याएपछि दिउँसो करिब १२ बजे प्राविधिक टोली भवनभित्र प्रवेश गर्न सफल भयो। धुवाँ, भाँचिएका सिसा र आंशिक रूपमा जलेको संरचनाबीच जोखिम मोलेर आवश्यक सर्भरहरू सुरक्षित रूपमा अन्यत्र स्थानान्तरण गरी नयाँ डाटा केन्द्रमा पुनःस्थापना गरिएको कम्पनीले जनाएको छ।
हाल अधिकांश ग्राहकको इन्टरनेट सेवा सुचारु भइसकेको र आजै साँझसम्म पूर्ण क्षमतामा सेवा सञ्चालन गर्ने लक्ष्य रहेको जानकारी दिइएको छ। साथै, टेलिभिजन सेवा पनि चाँडै सञ्चालन हुने कम्पनीले जनाएको छ।
भायानेटले यस्तो विपद्मा पनि धैर्य र विश्वास देखाएको ग्राहकवृन्दप्रति आभार व्यक्त गर्दै, यस घटनाले भविष्यमा अझ सुरक्षित र मजबुत नेटवर्क निर्माण गर्न प्रेरणा दिएको उल्लेख गरेको छ।