जेन-जी आन्दोलनमा कति हराए प्रहरीका हतियार र सञ्चार साधन ?
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २६ बिहिबार
1.1k
Shares
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले यही भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा नियन्त्रणमा लिएका हातहतियार, सञ्चारसाधन, सवारीसाधन आग्रह गरेको छ ।
बिहीबार नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले सूचना जारी गर्दै प्रहरी लगायत अन्य सुरक्षा निकायका हातहतियारसहित अन्य भौतिक साधनहरू नियन्त्रणमा लिएको वा कतै फेला परे फिर्ता बुझाउन अनुरोध गरेको हो।
‘नेपाल प्रहरीलगायत अन्य सुरक्षा निकायका हातहतियार, सञ्चार साधन, सवारी साधन, असबाब र अन्य भौतिक साधन नियन्त्रणमा लिएको वा कतै फेला पार्नुभएको छ भने उक्त हातहतियार लगायत अन्य सामाग्रीहरू स्थानीय प्रहरी वा सुरक्षा निकायको कार्यालय वा जिल्ला प्रहरी कार्यालय वा प्रहरी कन्ट्रोल १०० वा टोल फ्रि नं. १६६००१४१५१६ वा नेपाल प्रहरी प्रधान कार्यालयको सम्पर्क नं. ९८५१२९३४५९ मा सम्पर्क गरी फिर्ता बुझाउन हुन अनुरोध गरिएको छ,’ सूचनामा उल्लेख गरिएको छ ।
साथै सूचनामार्फत नेपाल प्रहरीले आन्दोलनका क्रममा प्रदर्शनकारीले नियन्त्रणमा लिएको प्रहरीको पोशाक दुरुपयोग नगर्नसमेत आग्रह गरेको छ ।
‘आन्दोलनका क्रममा प्रदर्शनकारीहरुले नियन्त्रणमा लिएको प्रहरीको पोशाकहरु दुरुपयोग नगर्न हुन र सोसँग सम्बन्धित सूचनाहरू समेत उपलब्ध गराउन सर्वसाधारणहरूलाई नेपाल प्रहरी अनुरोध गर्दछ’, सूचनामा भनिएको छ ।