झापा। जेन-जी आन्दोलनका क्रममा झापाका विभिन्न इलाका प्रहरी कार्यालयको हिरासतबाट भागेका ९२ जना थुनुवा अझै सम्पर्कमा आएका छैनन्। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले फरार थुनुवाहरूको खोजी कार्य जारी रहेको बताएका छन्।
भदौ २४ गते प्रदर्शनकारीले आगजनी र तोडफोड गर्दा इलाका प्रहरी कार्यालय अनारमनीबाट ३६ जना, दमकबाट ५१ जना र झिलझिलेबाट ५ जना गरी कुल ९२ जना थुनुवाहरू भागेका थिए।
यसै क्रममा, प्रदर्शनकारीहरूले दमक, विर्तामोड, झिलझिले र काँकडभिट्टाका इलाका प्रहरी कार्यालयहरूमा आगजनी र तोडफोड गरेका थिए। विर्तामोडस्थित इलाका प्रहरी कार्यालयमा आगजनी हुनुअघि नियन्त्रणमा लिएका हतियारहरू भने सेनाले फिर्ता लिइसकेको छ।