लोकतन्त्र पुनःस्थापना र संरक्षणका लागि सबै सक्रिय हुन आवश्यकः कांग्रेस
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २५ बुधबार
3.9k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले लोकतान्त्रिक प्रक्रियाको पुनःस्थापना र संरक्षणका लागि सबै पुनः सक्रिय हुन आवश्यक रहेको बताएका छन् ।
बुधबार उनले विज्ञप्ति जारी गर्दै उनले नेपाली कांग्रेस लोकतन्त्रको लागि सबैभन्दा भरपर्दाे शक्ति हो भन्ने दुविधा नरहेको भन्दै पार्टीले अन्य लोकतन्त्र र संविधानप्रति प्रतिवद्ध दलहरुसँग तत्काल संवाद गर्न आवश्यक रहेको बताए ।
उनले शान्ति, सुरक्षा, संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रक्रियाको संस्थागत पुनःस्थापनाका लागि राष्ट्रपतिको अगुवाइमा हुने संवाद र पहलमा नेपाली कांग्रेसले सक्रिय पहल गर्नपर्ने बताए ।
‘हालै नवयुवा पुस्ताद्वारा आयोजित विरोध प्रदर्शनका क्रममा हुन नपर्ने दुःखद् घटना भएकोप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । धेरै युवाहरु र केही सुरक्षाकर्मीले ज्यान गुमाउनुपरेको पीडादायी अवस्था हामी सबैका लागि अत्यन्त दुःखदायी छ । मृतकहरुमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । घाइतेलाई शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्दै बिरोध प्रदर्शन क्रममा भएको धनजनको ठूलो क्षतिप्रति गम्भीर चिन्ता प्रकट गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘हिजो देशभर भएको तोडफोड, आगजनी र हिंसात्मक गतिविधि शान्तिपूर्ण लोकतान्त्रिक विरोधको मर्म र मान्यताबाट बाहिर गएको छ । देश, जनता र लोकतन्त्रप्रत प्रतिवद्द नवयुवाले अवश्य पनि यस्तो चाहेका थिएनन् । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता लोकतन्त्रका आधारभूत स्तम्भमा समेत आगजनी हुनु गम्भीर छ । म लगायत धेरैको घर निजी सम्पति, उद्योग व्यावसाय, सञ्चार गृहलगायतमा भएको आगजनी, तोडफोड र लुटपाट अत्यन्त दुःखद् र निन्दनीय छ । यो एक दिनको क्षति १० वर्षे माओवादी द्वन्दको बेला भन्दा धेरै बढी हो । यसले लगानीको वातावरणलाई पनि बिगारेको छ र क्षतिपूर्ति गर्न वर्षाैँ र ठूलो लगानी लाग्ने निश्चित छ । यस्तै, पार्टी सभापति शेरबहादुर देउवालगायत अन्य नेताहरूमाथि भएको सांघातिक आक्रमणको घोर निन्दा तथा भत्र्सना गर्दछु । देश अहिले राजनीतिक शून्यता र कानुनी अनिश्चिततामा छ । राष्ट्रपतिको समन्वयमा सुरक्षा निकायहरू सक्रिय भई शान्ति-सुरक्षा अमनचयन कायम हुन जरुरी छ ।’
‘कानूनी शासनको विकल्प छैन, लोकतन्त्रको विकल्प छैन । यस जटिल अवस्थामा पार्टीका सम्पूर्ण साथीहरू एकजुट भई आत्मविश्वास र भरोसा जगाउनु अपरिहार्य छ । लोकतान्त्रिक प्रक्रियाको पुनःस्थापना र संरक्षणका लागि हामी सबै फेरि सक्रिय हुन आवश्यक छ । नेपाली कांग्रेस लोकतन्त्रको लागि सबैभन्दा भरपर्दाे शक्ति हो भन्ने कुनै दुविधा छैन । पार्टीले अन्य लोकतन्त्र र संविधानप्रति प्रतिवद्ध दलसँग तत्काल संवाद गर्न आवश्यक छ । त्यसैले शान्ति, सुरक्षा, संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रक्रियाको संस्थागत पुनःस्थापनाका लागि राष्ट्रपतिज्यूको अगुवाईमा हुने संवाद र पहलमा नेपाली कांग्रेसले सक्रिय पहल गर्न आवश्यक छ’,विज्ञप्तिमा भनिएको छ ।