arrow

जेनजी आन्दोलन: सिंहदरबारसहित मुख्य सरकारी भवन र नेताका निवासमा क्षति

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २४ मंगलबार
Singhdurbar drone shot.jpeg

काठमाडौँ । जेनजी समूहको प्रदर्शनपछि देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसहित महत्त्वपूर्ण सरकारी भवन र नेताहरूको निवासमा ठूलो क्षति पुगेको छ।

बानेश्वरबाट सुरु भएको आन्दोलनले उग्र रूप लिएपछि कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका का मुख्य भवनहरू जलेका छन्। सिंहदरबारभित्र रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रामशाहपथस्थित सर्वोच्च अदालत र नयाँ बानेश्वरको सङ्घीय संसद् भवन आगलागीबाट ध्वस्त भएका छन्।

यसबाहेक, प्रदर्शनकारीहरूले रामशाहपथको महान्यायाधिवक्ताको कार्यालय र बग्गीखानास्थित ट्राफिक प्रहरी कार्यालय मा पनि आगजनी गरेका छन्।

नेताका निवासमा तोडफोड र आगजनी
आन्दोलनकारीको निशानामा शीर्ष नेताहरूको निवास पनि परेको छ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र पूर्वप्रधानमन्त्री झलनाथ खनाल लगायतका नेताहरूको निवासमा तोडफोड र आगजनी भएको छ।

एमाले नेताहरू गोकुल बास्कोटा, महेश बस्नेत र महेश बर्ताैला का निवासमा पनि आगजनी र तोडफोड गरिएको छ। आन्दोलनकारीले केही नेताहरूमाथि हातपात समेत गरेको सूचना प्राप्त भएको छ।

सोमबारको प्रदर्शनमा प्रहरी कारबाहीमा १९ जना युवाको मृत्यु भएपछि आन्दोलन थप हिंसात्मक बनेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ