जेनजी समूहलाई संयम हुन मानव अधिकार आयोगको आग्रह [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २४ मंगलबार
933
Shares
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आन्दोलनरत जेन-जी समूहलाई हिंसात्मक गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ। आयोगले सरकारलाई पनि जेन-जी समूहको जायज मागहरूलाई सम्बोधन गर्न अनुरोध गरेको छ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले सोमबारदेखि जारी प्रदर्शनको अनुगमन गरिरहेको जानकारी दिएका छन्। अनुगमनका क्रममा सरकारले प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गरेको पाइएको उनले बताए। १९ जनाको मृत्युले पनि सरकारको दमनकारी कदमलाई पुष्टि गर्ने उनको भनाइ छ।
आयोगले यो घटनाको छानबिन गर्न सदस्य डा. लिली थापाको संयोजकत्वमा एक अनुसन्धान टोली गठन गरेको छ। यो टोलीले प्रदर्शनका क्रममा भएका मानव अधिकार उल्लङ्घनका घटनाहरूको पहिचान गरी दोषीलाई कारबाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन सरकारलाई सिफारिस गर्नेछ। अनुसन्धान टोलीले आज (मंगलबार) देखि नै काम सुरु गर्ने पोखरेलले जानकारी दिए।
आयोगले यस घटनाको कडा शब्दमा निन्दा गर्दै यसलाई मानव अधिकारको अन्तर्राष्ट्रिय मूल्य-मान्यता, नेपालको संविधान र कानूनको विपरीत भएको ठहर गरेको छ। आयोगले घटनालाई गम्भीरतापूर्वक लिँदै दोषीलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ।