काठमाडौँ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा औसतभन्दा दक्षिणतिर र पूर्वमा औसत स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, मधेस प्रदेश र देशका पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी पहाडी तथा तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। विशेषगरी, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना कायमै रहनेछ।
महाशाखाले वर्षाका कारण पहिरो र गेग्रान बहावको जोखिम, नदीनाला र खोलाहरूमा पानीको सतह बढ्ने तथा यातायात प्रभावित हुन सक्ने भन्दै सबैलाई सतर्क रहन र पूर्वतयारी गर्न अनुरोध गरेको छ।