बुटवलमा छ सुरक्षाकर्मी घाइते, निशानामा कांग्रेस र एमाले, कर्फ्यु आदेश जारी [फोटोफिचर]
नारायण वली,
प्रकाशित २०८२ भदौ २३ सोमबार
1.2k
Shares
लुम्बिनी । जेन-जीको आन्दोलनको प्रभाव बुटवलमा पनि देखिएको छ । बिहानैदेखि प्रदर्शनमा निस्केको जेन-जी समूहले रुपन्देहीका विभिन्न ठाउँमा ढुंंगामुढा गरेको हो ।
प्रदर्शनकारीको ढुंगामुढाले बुटवलको सुख्खानगरस्थित नेकपा एमालेको पुष्पलाल स्मृति भवन लुम्बिनी प्रदेश कार्यालयमा तोफोड भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँडको घरमा घरमा ढुंंगामुढा गरेर तोडफोड गरिएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताएका छन् ।
प्रदर्शनकारीले कांग्रेस रुपन्देही र एमाले रुपन्देहीको पार्टी कार्यालय कोटीहवामा तोडफोड गरेर क्षति पुर्याएका छन् । कांग्रसे पार्टी कार्यालय परिसरमा रहेका दुई गाडी र चार ओटा मोटरसाइकलमा तोडफोडसमेत भएको बताइएको छ ।
नेकपा एमाले बुटवल नगर अध्यक्ष शोभाखर पोखरेलका अनुसार दिउँसो १ बजेदेखि २ घन्टा कार्यालय घेराउ गरी बाहिरबाट ढुंगा प्रहार गरेर सिसा फुटाएको जनाएका छन् ।
सोमबार बिहानदेखि शुरु भएको आन्दोलन तातिँदै गएपछि रुपन्देहीमा कर्फ्यु आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सोमबार अपरान्ह ४ बजेदेखि राति १० बजेसम्मलाई कर्फ्यु आदेश जारी गरेको हो ।
बुटवलको महेन्द्र राजमार्गस्थित राजमार्ग चौराहामा प्रहरी र आन्दोलनकारीबीच भएको मुठभेटमा दुई जना सशस्त्र प्रहरी २७ नम्वर गणका रमेश बानियाँ र सशस्त्र हवल्दार दिलबहादुर चुनारा तथा जनपथ प्रहरीतर्फ चार जना घाइते भएका छन् । घाइते हुनेहरुमा हवल्दार सोमबहादुर जिसी, प्रहरी जवानहरु भरत सुनार, टोपबहादुर कामी र प्रवीण राना रहेको लुम्बिनी प्रादेशिक अस्पताल इमर्जेन्सी विभागका सह-इन्चार्ज इन्द्र रानाले बताए ।
सह-इन्चार्ज रानाका अनुसार सबै घाइतेहरुको उपचार भइरहेको जनाए । उनले घाईतेहरुको उपचार प्रबन्ध अस्पतालले गरेको र थप उपचारको अवस्थालाई तयारी पारिएको बताए ।