जन–जीको आन्दोलनलाई रोकेन कर्फ्युले, बानेश्वर क्षेत्रमा झडप कायमै (तस्बिर)
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २३ सोमबार
923
Shares
काठमाडौँ । जेन–जीको आन्दोलनले मुलुक गम्भीर मोडमा पुगेको छ । प्रदर्शन उग्र भएसँगै प्रहरीले चलाएको गोली लागेका १८ जनाको मृत्ुयु भइसकेको जनाइएको छ । थुप्रै गम्भीर घाइते भएका छन् ।
घाइतेको संख्या बढेर करिब पाँच सय पुगेको बताइएको छ । अस्पतालहरुमा घाइते नै घाइते छन् । अस्पतालले यकिन तथ्याङ्कसमेत दिन सकेको छैन ।
काठमाडौँ जिल्ला प्रशासनले काठमाडौँका विभिन्न स्थानमा कर्फ्यु लगाएको भए पनि प्रदर्शनकारीलाई कर्फ्युले रोकेको छैन । सडकमा निस्किएर नाराबाजी गरिरहेका छन् ।
जसका कारण उनीहरुमाथि प्रहरीले रबरका गोली हानेको छ । निरन्तर गोली चलिरहेको छ । साँझसम्मै बानेश्वर चोकमा आगजनी भएको छ ।
सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा जेनजीहरु प्रदर्शनमा उत्रिएका हुन् । जेनजी पुस्तामा घुसपैठ भएसँगै आन्दोलनले गम्भीर रुप लिएको छ ।
नयाँ बानेश्वर क्षेत्रमा लामो समयदेखि तनाव जारी छ । जिल्ला प्रशासन कार्यालयले नयाँ बानेश्वरसँगै सिंहदरबार, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयमा कर्फ्यु लगाएको छ ।
जेन–जी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै आन्दोलनकारीलाई तत्काल घर जान आग्रह गरे पनि कोही फर्केका छैनन् । यद्यपि उक्त आन्दोलनमा विपक्षी दलहरुका कार्यकर्ता रहेको दाबी गरिएको छ । उनीहरुले आन्तरिक सर्कुलर जारी गरी आफूहरुलाई बानेश्वरमा भेला हुन बताएको आन्दोलनकारीले जनाएका छन् ।
काठमाडौँसहित उपत्यका बाहिरका सहरहरुमा पनि प्रदर्शन भएको छ ।
सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध फिर्ता लिन सक्ने जनाइएको छ । सामाजिक सञ्जाल फाटफुट खुल्न थालेका छन् ।