जेन–जी आन्दोलनमा मृत्यु हुनेको संख्या १० पुग्यो, थुप्रै गम्भीर
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २३ सोमबार
2k
Shares
काठमाडौँ । जेन–जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा मृत्यु हुनेको संख्या १० पुगिसकेको छ । सय जना भन्दा बढी घाइते भएकामा थुप्रैको अवस्था गम्भीर भएको चिकित्सकहरुले बताएका छन् ।
मृतकको संख्या बढ्न सक्ने चिकित्सकहरुले बताएका छन् ।
ट्रमा सेन्टरमा मात्रै ६ जनाको मृत्यु भएको छ । त्यस्तै सिभिल अस्पतालमा २ तथा केएमसी र शिक्षण अस्पतालमा एक जनाको मृत्यु भएको छ ।
यसैबीच नेपाली कांग्रेसका नेता एवं सांसद डा सुनील शर्माले जेनजीको आन्दोलनलाई समर्थन गर्दै केएमसीमा निःशुल्क उपचार गरिएको बताएका छन् ।
सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा जेनजीहरु प्रदर्शनमा उत्रिएका हुन् । जेनजी पुस्तामा घुसपैठ भएसँगै आन्दोलनले गम्भीर रुप लिएको छ । नयाँ बानेश्वर क्षेत्रमा लामो समयदेखि तनाव जारी छ । जिल्ला प्रशासन कार्यालयले नयाँ बानेश्वरसँगै सिंहदरबार, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयमा कर्फ्यु लगाएको छ ।
जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै आन्दोलनकारीलाई तत्काल घर जान आग्रह गरेको छ । यद्यपि उक्त आन्दोलनमा विपक्षी दलहरुका कार्यकर्ता रहेको दाबी गरिएको छ । उनीहरुले आन्तरिक सर्कुलर जारी गरी आफूहरुलाई बानेश्वरमा भेला हुन बताएको आन्दोलनकारीले जनाएका छन् ।
काठमाडौँसहित उपत्यका बाहिरका सहरहरुमा पनि प्रदर्शन भएको छ ।
सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध फिर्ता लिन सक्ने जनाइएको छ । सामाजिक सञ्जाल फाटफुट खुल्न थालेका छन् ।