शुरू भयो सोह्र श्राद्धे, कहिले कुन तिथिको श्राद्ध ? [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २३ सोमबार
550
Shares
तस्बिर – पशुपतिमा कैद गरिएको, नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । आज सोमबारदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ । चाडपर्व, यज्ञ तथा ठूलाकार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो। सोह्रश्राद्धमा पितृले आफ्ना सन्तानबाट तर्पण, पिण्डको आश गरिरहेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।
यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ। यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ। कार्तिक कृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने धर्मसिन्धु नामक शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ।
पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दसैँ सुरु हुन्छ। बडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ। ठूला पर्व वा चाड मनाउनुअघि पितृतृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा छ ।
सोह्र श्राद्धे घरमा वा मन्दिरमा वा तीर्थस्थलमा गरिन्छ ।
यस वर्षको सोह्रश्राद्ध
यस वर्ष भाद्र २३ देखि आश्विन ५ गतेसम्म सोह्रश्राद्ध रहेको छ । प्रतिपदा तिथि विशेषगरी भाद्र २३ गते भनिए पनि २२ गते राति ११ः४९ बजेदेखि नै शुरू हुन्छ । यो तिथि भाद्र २३ गते राति १०ः१७ बजेसम्म कायम रहन्छ ।
यस्तै द्वितीया तिथि भाद्र २३ गते राति १०ः१८ मा शुरू भएर २४ गते राति ८ः२५ बजेसम्म रहन्छ । तृतीया तिथि २४ गते राति ८ः२६ मा शुरू भएर २५ गते साँझ ६ः१७ बजेसम्म, चतुर्थी तिथि २५ गते साँझ ६ः१८ देखि २६ गते दिउँसो ३ः४९ बजेसम्म कायम रहनेछ ।
यस्तै पञ्चमी तिथि भाद्र २६ गते दिउँसो ४ः०० बजे शुरू भएर २७ गते दिउँसो १ः३४ बजेसम्म, षष्ठी तिथि २७ गते दिउँसो १ः३५ बजे शुरू भएर २८ गते बिहान ११ः०७ बजेसम्म कायम रहनेछ । यसमा निकै विचार गर्नुपर्ने कुरा के छ भने पञ्चमी र षष्ठी तिथिको श्राद्ध २७ गते नै गर्नुपर्ने हुन्छ । किनकि श्राद्ध गर्दा मध्यान्ह पश्चात् गर्ने चलन छ । यसमा २८ गते बिहान ११ः०७ बजेसम्म षष्ठी तिथि रहेकाले अघिल्लो दिन नै श्राद्ध गर्नुपर्ने हुन्छ ।
यस्तै भाद्र २८ गते सप्तमी, २९ गते अष्टमी, ३० गते नवमी, ३१ गते दशमी, आश्विन १ गते एकादशी, २ गते द्वादशी, ३ गते त्रयोदशी, ४ गते चतुदर्शी र ५ गते औंशी तिथिको श्राद्ध गर्नुपर्ने हुन्छ ।