सोह्र श्राद्धको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दसैँ शुरु हुन्छ
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २३ सोमबार
712
Shares
काठमाडौँ। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् रूपमा आरम्भ भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको जानकारी अनुसार, आज प्रतिपदा तिथिमा पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्नेछ।
आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिएको हो। यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि चिनिन्छ। चाडपर्व वा अन्य ठूला कार्य गर्नुअघि पितृहरूलाई श्रद्धापूर्वक सम्झिने वैदिक सनातन हिन्दू परम्पराअनुसार सोह्र श्राद्ध गर्ने गरिन्छ। यस अवधिमा पितृहरू आफ्ना सन्तानले दिने तर्पणको अपेक्षामा बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ।
धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार, सोह्र श्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुनुका साथै पितृऋणबाट पनि मुक्ति मिल्छ। यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्ने शास्त्रीय वचन रहेको छ। उहाँले सोह्र श्राद्ध अपराह्नकालमा गर्नुपर्ने शास्त्रीय विधान रहेको पनि बताउनुभयो। विशेष कारणले गर्दा सोह्र श्राद्ध गर्न नहुने अवस्था (जस्तै: जाताशौच, मृताशौच र पत्नी रजस्वला) बाहेक अरू बेला श्राद्ध छोड्नु नहुने उहाँको भनाइ छ।
यदि कुनै कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा शास्त्रमा अनेक विकल्प दिइएको छ। आपत् धर्मअनुसार आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न सकिन्छ। त्यसपछि पनि गर्न नसकिएमा कार्तिक कृष्ण औँसी (लक्ष्मी पूजाका दिन) वा मङ्सिरको वृश्चिक सङ्क्रान्तिसम्म पनि गर्न सकिने धर्मसिन्धु नामक शास्त्रीय ग्रन्थमा उल्लेख छ।
सोह्र श्राद्धको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दसैँ शुरु हुन्छ। ठूला पर्वहरू मनाउनुअघि पितृहरूको तृप्तिका लागि श्राद्ध गर्ने वैदिक सनातनी परम्परा रही आएको छ।