arrow

महोत्तरीमा भाद्र पूर्णिमादेखि पितृपक्ष शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २२ आइतबार
Mahottari-hamrakura.jpg.jpeg

महोत्तरी। महोत्तरीमा भाद्र पूर्णिमाकै दिनबाट पितृपक्ष सुरु भएको छ। सामान्यतया असोज कृष्णपक्षलाई पितृपक्ष मानिए पनि मैथिल परम्पराअनुसार भाद्र पूर्णिमाकै दिन देवर्षि पितृ तर्पण दिई यो विधिलाई प्रारम्भ गरिन्छ।

बर्दिबासका पण्डित महेशकुमार झाका अनुसार, भाद्र शुक्ल चतुर्दशीमा 'नौकेश' (हातगोडाका नङ र कपाल काट्ने विधि) गरेर पितृपक्षको पूर्वतयारी गरिन्छ। भाद्र पूर्णिमाको दिन कूलदेवता, ग्रामदेवता र देवर्षिलाई आमन्त्रण गरी तर्पण दिइन्छ। यसपछि असोज कृष्णपक्ष प्रतिपदादेखि पूर्णिमासम्म दिवङ्गत स्वजनलाई तर्पण दिइन्छ।

पितृपक्षमा दुई प्रकारका श्राद्ध विधि प्रचलनमा छन्:
पार्वण श्राद्ध (महालय श्राद्ध): पितृपक्षबाहेकका तिथिमा दिवङ्गत भई पहिलो वार्षिकी मनाइएका पितृहरूको सम्झनामा गरिने श्राद्ध। यसमा तीन पुस्ताका पितृहरू, मावली र गायत्री गुरुलाई समेत पिण्ड दिइन्छ।

एकोपार्वण श्राद्ध: पितृपक्षभित्रै दिवङ्गत भएका पितृको सोही तिथिमा गरिने श्राद्ध।

मिथिलामा पितृपक्षको तर्पण र श्राद्ध प्रायः तीर्थस्थलमा गर्ने चलन छ। आज भाद्र पूर्णिमाको दिन महोत्तरीका धार्मिक महत्त्वका नदी र तलाउहरू जस्तै जलेश्वरस्थित भार्गवसर, लक्ष्मीसागर, रातु नदी लगायतका स्थानमा तर्पण दिनेको घुइँचो लागेको थियो। यहाँ एकै पुरोहितले सामूहिक संकल्प पढेर तर्पण गराउने गर्छन्।

राजकीय संस्कृत माध्यमिक विद्यालयका शिक्षक शोभाकान्त झाका अनुसार, यस पक्षमा पितृहरू स्वर्गबाट पृथ्वीमा ओर्लने र सन्तानले दिएको तर्पण तथा पिण्ड ग्रहण गर्ने धार्मिक विश्वास रहेको छ।

‘सोलहसराद’ र यसको महत्त्व
मिथिलामा असोज कृष्णपक्षका १५ तिथिभित्र १६ तिथिका श्राद्ध गरिने भएकाले यसलाई ‘सोलहसराद’ (सोह्रश्राद्ध) पनि भनिन्छ। पूर्णिमाको श्राद्ध औँसीमा गरिने भएकाले पक्ष १५ दिनको भए पनि श्राद्ध १६ दिनको हुन्छ।

दसैँ, तिहार र छठजस्ता मुख्य चाडपर्वअघि पितृहरूको स्मरण गर्नाले पारिवारिक विघ्न नपर्ने र पितृहरू तृप्त हुने विश्वास गरिन्छ। यो परम्पराले शुभकार्यमा पितृको आशीर्वाद रहने मान्यता बोकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ