arrow

इलामको फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल सुनसान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २२ आइतबार
sukilumba-airport.PNG

इलाम। पर्यटन र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको इलामको फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल अहिले जहाज उडानको पर्खाइमा सुनसान बनेको छ। आर्थिक वर्ष २०८१/८२ मा ३३ वटा उडान भएको यो विमानस्थलमा गत जेठयता कुनै पनि उडान हुन सकेको छैन। जिल्लावासीले विमानस्थल नियमित सञ्चालन गर्न माग गरेका छन्।

इलाम नगरपालिका–९ मा अवस्थित यस विमानस्थलमा २०७५ जेठ २१ मा तारा एयरले पहिलो परीक्षण उडान गरेको थियो। त्यसपछि नेपाल एयरलाइन्सले पनि सफल परीक्षण उडान गरेको थियो, जसले गर्दा इलामसहित पूर्वी पहाडी क्षेत्रका बासिन्दाले नियमित उडानको आशा गरेका थिए।

सुरुवातमा इलाम नगरपालिकाले तारा एयर र पछि नेपाल एयरलाइन्ससँग सिट खाली भएमा भाडाको दायित्व व्यहोर्ने गरी सम्झौता गरेको थियो। तर, नगरपालिकाले पछिल्लो वर्ष कुनै एयरलाइन्ससँग सम्झौता नगरेको प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्काले बताएका छन्। यसै कारण नेपाल एयरलाइन्सले मौसमको कारण देखाउँदै गत जेठ १४ गतेदेखि उडान भर्न बन्द गरेको थियो।

यो विमानस्थल २०५८ सालमा निर्माण प्रक्रिया सुरु भएको थियो र यसका लागि अहिलेसम्म २८ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। ३ सय २८ रोपनी क्षेत्रफलमा फैलिएको यस विमानस्थलको ६ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग कालोपत्रे भए पनि स्थायी टर्मिनल भवन, पक्की पहुँचमार्ग र सुरक्षित तारबारजस्ता संरचना अझै अधुरै छन्।

स्थानीय वडाध्यक्ष गोपाल चौहानले विमानस्थल नियमित सञ्चालनका लागि नगर कार्यपालिकाको बैठकमा पटक-पटक कुरा उठाए पनि मौसम र प्राविधिक कारण देखाउँदै दीर्घकालीन समाधान हुन नसकेको बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ