arrow

छत्तीस प्रतिशत ब्याजमा खोजेको पैसाले शुरु गरेको व्यावसायिक यात्रा

logo
जीवन धमला,
प्रकाशित २०८२ भदौ २१ शनिबार
jeevan-dhamala-82-5-21.jpg

यस यात्रामा हामी दुई दाजुभाइ काठमाडौँको कोटेश्वरस्थित नरेफाँट भन्ने ठाउँमा एउटा सानो दूध डेरी सञ्चालन गर्ने उद्देश्यले २०६८।०१।२० गते ८० लिटर दूध सञ्चालन भइरहेको डेरी रु. ३,५०,००० बुबाले गाउँबाट सय कडा ३ रुपैयाँको ब्याजदरले साहुसँग ऋण काटी पठाउनुभएको पैसाले शुरु गरेको व्यवसायलाई निरन्तरता दिँदै गएका भोगाई, अवरोध र सङ्घर्षहरूलाई समेट्ने कोसिस गरेको छु ।

मैले एसएलसी दिएर काडमाण्डौँ आउँदा सबै कुरा नितान्त नयाँ हुने नै भए । एक १६ वर्षको केटो कुनै कुराको सुविधा नभएको ओखलढुङ्गाबाट काठमाडौँ आएर सबै कुरा सिक्नुपर्ने बाध्यता थियो । यो बाध्यता मेरो मात्र नभएर ग्रामीण समुदायबाट सहर आउने व्यक्तिको उस्तै हुन जान्छ भन्ने मेरो बुझाई रहेको छ ।

व्यवसाय र पढाई: एक विश्वविद्यालय
आफ्नो काम गर्दै पढाईलाई निरन्तरता दिनु एक विश्वविद्यालयमा पढेको जतिको हुने रहेछ । अनेक रंग र किसिमका भोगाई सिकाई हुने हुनाले पनि मलाई चाहिं अहिले फर्केर हेर्दा विश्वविद्यालय नै गएको जस्तो लाग्ने गरेको छ। त्यो यात्राबाट पाएको सिकाई अहिलेसम्म मेरो जीवनमा काम लागिरहेको छ।

व्यवसायलाई निरन्तरता दिँदै पढाइलाई अघि बढाउने उद्देश्यले म काठमाडौँ आएको थिएँ । यसै सिलसिलामा हामी दाजुभाइले डेरी स्थापना गरेर काम शुरु गर्‍यौँ, मलाई काठमाडौँ नयाँ, त्यसैमा डेरीको अनुभव शून्य नै थियो दाइलाई केही मात्रामा अनुभव भएका कारण हामीले डेरी सञ्चालन गरेका थियौँ । 

अहिलेको अवस्थामा भन्दा त्यो बेला देश तथा डेरी व्यवसाय ज्यादै कष्टकर अवस्थामा थियो । हाम्रो सटर थियो र सानो एउटा दूधको काम गर्ने कोठा थियो । दाइ र म कोठाको एक कुनामा दूध तताउने गरेको थियौँ भने अर्को कुनामा खाना पकाउने गर्थ्यौं र सटरको अगाडी व्यापार गर्ने र बीचमा 'र्‍याक' राखेर पछाडि भुइँमा डसना ओछ्याएर सुत्ने गर्दै व्यवसाय चलाउँदै गर्दै जाँदा साइकलसम्म नदेखेको व्यक्ति म त्यो बेला साइकल सिकेर दूध घर घरमा पुर्‍याउने भइसकेको थिएँ । 

मलाई साइकल चलाउन खासै समय लागेन । त्यो धेरै छिटो नै सिकेँ । त्यो गर्दै जाँदा मेरो असार महिनामा एस.एल.सी. रिजल्ट आयो । त्यो बेलासम्म कलेजमा म के पढ्ने भन्ने कुनै टुङ्गो थिएन । अब कहाँ पढ्ने, के पढ्ने भन्ने दाई भाइ सल्लाह गर्न थाल्यौँ । नजिकैको सी.सी.आर.सी.क्याम्पस पढ्ने भन्ने कुरा चल्दा खर्चले धान्न सकिँदैन भन्ने हाम्रो निष्कर्ष निस्कियो र नजिकैको सरकारी कलेज कोटेश्वर बहुमुखी क्याम्पस भर्ना गर्ने निर्णय गरियो । 

तर त्यो बेलासम्म के विषय पढ्ने भन्ने निधो थिएन ओखलढुङ्गामा एजुकेसन पढेको भनेको मात्र सुनेको थिएँ । त्यसैबेला म साइकल लिएर कोटेश्वर बहुमुखी क्याम्पस पुगेँ र त्यहाँको प्रिन्सिपल गोविन्द बहादुर कार्की सरलाई भेटेको रहेछु । र सरले मेरो सर्टिफिकेट हेर्नुभयो र सोध्नुभयो तिमी के पढ्न चाहन्छौ । म अक्क न बक्क भएँ  मलाई देखेर सरले भन्नुभयो तिमी म्यानेजमेन्ट पढ । एसएससीमा पनि अप्सनल म्याथ लिएर पढेका रहेछौ म्यानेजमेन्ट पढ र अप्सनलमा कम्प्युटर साइन्स र अप्सनल म्याथ विषय राखेर पढ भन्ने सल्लाह दिनुभयो । मैले एकै शब्दमा हुन्छ भनेर फर्म भरी सरले देखाउनु भएको ड्रेस सिलाउन पसलतिर लागेँ र ड्रेस सिलाउन नाप दिएर आफ्नो साइकलमा पसलतिर लागेँ ।

पढाई, व्यवसाय र राजनीति
बिहान ४ बजे उठेर म पसलबाट हिँड्दै कलेज जाने र १० बजेसम्मको पढाई सकेर फेरि आफ्नो पसल आउने गर्न थालेँ । सो समयमा बिहान दाइले पसल खोल्ने र काभ्रे जिल्लाबाट आएको दूध तताउन बसाउने गर्नुहुन्थ्यो । र खाना पनि बनाउनु हुन्थ्यो । म कलेजबाट आएर ड्रेस चेन्ज गरेर त्यो दूधलाई चिसो पारेर आवश्यकता अनुसार दूध र दही तथा दूधजन्य पदार्थ कति बनाउनु पर्ने सबै काम गर्थेँ । सँगसँगै तरकारी पकाउने पनि गर्थें भने दाइ पसल हेर्ने गर्नुहुन्थ्यो र पालैपालो गरेर दाजुभाइ खाना खान्थ्यौँ भने काम पनि पालैपालो गर्थ्यौं । 

यसरी नै काम अघि बढ्दै गयो भने मेरो कलेजको पढाई पनि अघि बढ्दै गयो । म काम र पढाई सँगसँगै सामाजिक काममा रुचि राख्ने भएकाले कलेजको माहौल अनुसार आफ्नो आस्थालाई निरन्तरता दिँदै कोटेश्वर बहुमुखी क्याम्पसको +२ को इकाई सभापति भएर कार्य पनि गर्न थालेँ । त्यो दुई वर्षको कार्यकालमा मैले २ वटा वनभोज कार्यक्रम र एउटा दशैं तिहारको शुभकामना कार्यक्रम त्यस बेलाका युवा नेता गगनकुमार थापालाई प्रमुख अतिथिको रूपमा बोलाएर कार्यक्रम गर्ने मौका पनि पाएँ । यसमा मलाई अत्यन्तै सहयोग गर्ने त्यस बेलाका स्ववियु सभापति महेन्द्र भट्टराई दाइलगायत बबिन बस्नेत, दिनेश ढकाल दाइहरूको पनि धेरै सहयोग पाएको सम्झन्छु ।

यता व्यवसाय पनि अलि राम्रो हुँदै थियो त्यही बेला नाकाबन्दीले गर्दा महिनौँसम्म दाउरा किनेर लगेर दूध तताएर आफ्नो ग्राहकहरूलाई आफूले जति नै कष्ट भोगेता पनि निरन्तर सेवा गरिनै रह्यौं । यसै बीचमा दाइको विवाह पनि गरियो । सो बेलामा सम्पूर्ण व्यवस्थापन एक्लै गर्न पनि पछि परिएन । दिनमा साइकलमा लगभग ८०-९० घरधुरीमा दूध पुर्‍याउने गर्थ्यौं भने ५-६ वटा साना पसललाई सामान साइकलबाट नै पुर्‍याउने गरिन्थ्यो । टिकाथलीसम्म हाम्रो राम्रो बजार भइसकेको थियो । 

डेरी व्यवसाय साह्रै दुखिया र अत्यन्तै संवेदनशील पेशा भएकाले धेरै व्यस्त नै हुने भएकाले अत्यधिक खटाइको आवश्यकता यस व्यवसायले खोज्ने गर्दछ । मैले ११ र १२ कक्षा उत्तीर्ण गरेपछि दाइको पनि विवाह भइसकेको थियो दिदीको पनि विवाह भइसकेर सानी भान्जी भइसकेकी थिइन् । 

भिनाजु गाउँको स्कुलमा हेड मास्टर हुनुहुन्थ्यो । हामी सबैलाई यो पसलबाट गुजारा नहुने भएकोले मैले फेरी अर्को अनि सजिलो र पढाइसँगै सामाजिक कामलाई पनि समय निकाल्न सक्ने व्यवसायको खोजीमा लागेँ । खोज्ने क्रममा मेरो सानी आमाले घट्टेकुलोमा एउटा होस्टेल बिक्रीमा छ र चलाउने प्रस्ताव गर्नुभयो र सो होस्टेल किनेर म घट्टेकुला सरेँ भने दाइ र भाउजूले कोटेश्वरको पसल सम्हाल्नुभयो भने मैले केही दिदी बाट पैसा लिएर केही सहकारीको ऋणबाट होस्टेल किनेर दुईजना सहयोगी राखेर आफू पशुपति बहुमुखी क्याम्पस मित्रपार्कमा ब्याचलर म्यानेजमेन्टमा भर्ना भएर पढ्दै र व्यवसाय गर्दै गर्न थालेँ भने दिदी र भान्जी होस्टेलमा बसी भान्जीलाई पनि स्कुलमा भर्ना गरियो । सोही बेला भूकम्प गएर देश अस्तव्यस्त भएको थियो । नाकाबन्दी पनि सँगसँगै थपिएको थियो ।

व्यवसाय र समस्या
पशुपति बहुमुखी क्याम्पसको नेविसंघ इकाईमा काम गर्न थालेको थिएँ । हामीले त्यस भूकम्पको बेला नाङलेभारे र टोखा क्षेत्रमा धेरै घरहरू बनाउने काम पनि गरेका थियौँ । यसैगरी दिनहरू चल्दै जाँदा हाम्रो एउटा परिवारको समूह निर्माण हुँदै गयो । र सो समूहमा थोरै थोरै पैसा जम्मा गर्दै गएर एउटा राम्रो स्तरको काम गर्ने उद्देश्यले डेरी स्थापना गर्ने कुरा हुन लाग्यो । 

सो कुरा हुँदै जाँदा मेरो सानोबा दीप प्रसाद धमलाले अरूको भन्दा राम्रो नाम कमाइसकेको धमला डेरी प्रोडक्टस प्रालि नामक डेरी सञ्चालन गरिरहनुभएको थियो भने यसैलाई ठूलो बनाउने भन्ने खालका कुरा भएर सो डेरी रु १ करोडमा खरिद गरी समूह र पैसा थपेर हामी १२-१३ जनाको समूह बनेर ४-५ करोड लगानी गरी भक्तपुरको सल्लाघारीस्थित ३ रोपनी जग्गा भाडामा लिई धमला डेरी प्रोडक्ट्स प्रा.लि.को ठूलो स्वरूपमा प्लान्ट सञ्चालन गर्न थालियो । 

सोही अवस्थामा काम गर्दै जाँदा डेरीलाई सबैको साथ सहयोगले राम्रो व्यापार गर्न र दैनिक ७ हजार लिटरको काम गर्ने अवस्थामा डेरी पुगिसकेको थियो भने म डेरीको प्रोडक्सन, ल्याब पर्चेज, एकाउन्ट हेर्न थालिसकेको थिएँ । सबै राम्रो हुँदै थियो कम्पनी नाफामा गइसकेको थियो अवसर धेरै राम्रो थियो तर धेरै शेयर सदस्य भएका कारण स–साना समस्याहरू आइरहेका थिए । 

सोही अवस्थामा मैले धोबीधारामा एउटा काउन्टर पनि खोलिसकेको थिएँ । र सम्पूर्ण हाम्रो धमला डेरीको प्रोडक्स बेचिन्थ्यो र मैले मेरो शेयर बेच्ने प्रस्ताव गरेँ र शेयर बिक्री भयो । सो पश्चात् छ महिनासम्म काउन्टर चलाएर बसेँ सोही बेलामा कोरोनामा महामारी आयो र देश पूरै ठप्प भयो । कोरोनाको महामारीमा पनि डेरीलाई निरन्तरता गरियो किनभने सरकारले डेरीलाई अत्यावश्यकको सूचीमा राखेको थियो भने दोश्रो लकडाउनमा मैले भक्तपुरमा नै एउटा कामधेनु डेरीको स्थापना गरे र हालसम्म काम गर्दै आएको छु भने शुरुको धमला डेरी प्रोडक्टस प्रालि बिक्री भइसकेको अवस्था थियो ।

नेपालमा सामूहिक लगानीमा व्यवसाय सञ्चालन
नेपालको सन्दर्भमा हामीले व्यवसाय गर्ने तरिका सिकेका छैनौँ र विशेष गरी सबै व्यक्ति पूर्ण रूपमा शुरुदेखि अन्तिमसम्म हुन आउने समस्याको कुनै पनि अध्ययन नगर्ने र लगानी गरेपछि तत्काल नाफाको मात्र हिसाब गर्ने मानसिकताले गर्दा आएका समस्यालाई समाधान गर्ने भन्दा पनि सञ्चालकलाई बेसी आलोचना गर्ने र आफ्नो नीति, नियम विधान भन्दा पनि भैगो नि भन्ने मानसिकताले गर्दा धेरै व्यवसाय असफलताको बाटोमा गइरहेका छन् । 

विधि विधान एकातिर काम कुरो अर्कोतिर भने जस्तो र अत्यधिक लोभले पार्टनर लाई होस नहोस् आफ्नो होस भन्ने मानसिकताले गर्दा नेपालको अवस्थामा साझेदारीमा गरेको व्यवसाय अधिकांश असफल भएका सुन्नमा आउने गरेको छ। 

नीति नियम अनुसार सञ्चालन गरेका राम्रो व्यवस्थापन गर्ने व्यवसाय बुझ्ने व्यक्तिहरूको सामूहिक व्यवसाय अति नै सफल पनि देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ