राजतन्त्र गयो लोकतन्त्र आयो नेपाल नगरी
खेल्दछन् जहाँ नौटङ्की नट सधैं नै सिङ्गौरी
जाल र झेल गर्दछन् नित्य आफ्नै मनपरी
नवीन युग प्राचीन शैली अन्धेर नगरी ।
सबैको सुख शान्तिमा उग्र परेको खडेरी
निराश आँखा टुक्रेका स्वप्ना छाती र मनभरि
भत्केको आज उजाड झनै भविष्य मझेरी
पिएर पीडा अभाव झेल्दै बाँच्नेको नगरी ।
टाउकेहरु शक्तिको मोहक ओढेर पछ्यौरी
कुर्सीमा पुग्न आतुर सधैं विपक्षी पछारी
हर्दम मौका ताकेर बस्छन् चतुर व्यापारी
दीन र दुःखी निमुखा सती श्रापित नगरी ।
हुँदैन भलो अन्यायरूपी बारुद थुपारी
सहनुसीमा अन्तिम बिन्दु विष्फोटक तयारी
केवल बाँकी छ झोस्न एक फिलिङ्गो चिङ्गारी
लाभा झैं फुट्ला आक्रोश सधैं सहनु कसरी ?
ऐन चैन हराए कता खोजौं लौ कसरी ?
कोही त होला निर्भीक भई फोड्ने यो भुमरी
मुक्तिका लागि शहीदरक्त बहेको नगरी
जन्मेला कैले निस्वार्थी सपुत फेरि यो नगरी ? (भाटभटेनी काठमाडौँ, नेपाल)