arrow

मनाङ–२ मा उपनिर्वाचनको मिति तोकियो, मंसिर १७ गते मतदान हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २० शुक्रबार
election-commission-hq-building-2022.jpg

मनाङ। हिमाली जिल्ला मनाङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ अन्तर्गतको प्रदेशसभा निर्वाचन क्षेत्र (२) मा उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगको बिहीबार बसेको बैठकले मंसिर १७ गते सोमबारका दिन उपनिर्वाचन गर्ने गरी मिति तोकेको हो।

राजीव गुरुङ (दीपक मनाङे) लाई सर्वोच्च अदालतले अयोग्य ठहर गरेपछि उक्त प्रदेशसभा सदस्य पद खाली भएको थियो। सर्वोच्च अदालतको फैसलाअनुसार, संविधानको धारा १७८ (१) (ङ) बमोजिम योग्यता नपुगेकाले उनको पद २०८१ कात्तिक २० गतेदेखि नै रिक्त भएको मानिएको छ।

जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख अधिकृत गोविन्दप्रसाद अर्यालका अनुसार, उपनिर्वाचनको अवधि भदौ १३ गतेबाटै सुरु भइसकेको छ।

मुख्य कार्यतालिका यसप्रकार छ:
भदौ २०: निर्वाचन अधिकृतको कार्यालय स्थापना

असोज २१: उम्मेदवारको मनोनयन दर्ता

असोज २५: उम्मेदवारको अन्तिम नामावली र निर्वाचन चिन्ह वितरण

कात्तिक ११: मतदान अधिकृत र अन्य कर्मचारीको नियुक्ति

कात्तिक १६: मतदाताको उमेर १८ वर्ष पुग्ने मिति

कात्तिक १७: मतदान

२०७९ सालको निर्वाचनमा मनाङ–२ प्रदेशसभा निर्वाचन क्षेत्रमा कुल ४ हजार १९७ मतदाता थिए भने प्रदेशसभा सदस्य पदमा गुरुङ सर्वसम्मत निर्वाचित भएका थिए। यस उपनिर्वाचनमा २०८२ भदौ २५ मा प्रकाशन हुने अन्तिम मतदाता नामावली प्रयोग गरिनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ