काठमाडौँ । पूर्वी अफगानिस्तानको कुनार प्रान्तको नुरगल जिल्ला केन्द्रबिन्दु भएर आइतबार गएको शक्तिशाली भूकम्पमा ज्यान गुमाउनको संख्या एक हजार चार सय पुगेको छ ।
६ रेक्टर स्केलको उक्त भूकम्पका कारण हालसम्म तीन हजार पाँच सयभन्दा बढी मानिस घाइते भएको अधिकारीहरूले जनाएका छन् ।
भूकम्पले करिब पाँच हजार चार घर ध्वस्त बनाउँदै हजारौँलाई घरबारविहीन बनाएको छ, जसलाई पछिल्लो इतिहासकै सबैभन्दा प्राणघातक प्राकृतिका विपत्तिमध्ये एक मानिएको छ ।
केन्द्रबिन्दुबाट करिब ६० किलोमिटर टाढा रहेको नंगरहार सैनिक विमानस्थलका हेलिकप्टर र एम्बुलेन्समार्फत घाइतेलाई अस्पताल पुर्याइएको छ ।
खालिद इब्न वालिद कोप्र्सका प्रवक्ता वाहिदुल्लाह मोहम्मदीले सैन्य तथा नागरिक निकायका टोलीहरू उद्धार कार्यका लागि परिचालन गरिएको जानकारी दिए ।
उद्धारमा बाँच्न सफल भएका स्थानीयले भयानक अनुभव सुनाए । “आज मैले आमासँगै फूपू र उनकी छोरीलाई गुमाएँ । केही हामी घाइते भयौँ र अल्लाहको कृपाले मात्र बाँचेका छौँ,” एक गाउँलेले भने ।
अर्कोले थपे, “यो मेरो जीवनकै सबैभन्दा डर लाग्दो अनुभव हो । म कहिल्यै पनि यति आतंकित भएको थिइनँ ।”
भूकम्पको क्षति कुनारमा मात्र नभई नुरिस्तान, पञ्जशिर, लगमान र नंगरहार प्रान्तका केही भागमा समेत भएको छ । ग्रामीण पुनःस्थापना तथा विकासमन्त्री मुल्ला मोहम्मद युनुस अखुन्दजादाले भने, “हामी अहिले कुनारको अवस्थासँग जुधिरहेका छौँ, तर छिमेकी प्रान्तहरूमा पनि मृत्यु र घाइते भएका खबर आएका छन् ।”
उद्धार कार्यमा सडक अवरुद्ध भएको कारण कठिनाइ भोगिएको छ । अफगान रेड क्रस सोसाइटी कुनारका प्रमुख अब्दुल लतिफ साबेतले सडक खुलाउने प्रयास भइरहेको र त्यसले उद्धार कार्यलाई सहज बनाउने बताए ।
तालिबान सत्तामा आएपछि अफगानिस्तानमा अन्तर्राष्ट्रिय मानवतावादी संस्थाको उपस्थिति घटेको भए पनि अधिकारीले केही संगठनले सहयोगको आश्वासन दिएको जनाएका छन् ।
अफगानिस्तानले पछिल्ला वर्षहरूमा लगातार प्राणघातक प्राकृतिका विपत्तिहरू भोगिरहेको छ ।
सन् २०२३ मा हेरात भूकम्पमा एक हजार चार सय भन्दा बढी र सन् २०२२ मा पाक्तिका भूकम्पमा एक हजार भन्दा बढी मानिसको मृत्यु भएको थियो ।
यसपटकको दुर्घटनाले पुनः देखाएको छ कि अफगानिस्तान संसारकै अत्यधिक भूकम्पीय जोखिमयुक्त क्षेत्रमा पर्छ । एजेन्सी