arrow

विगत २५ वर्षमा विश्वका ४३ प्रतिशत ‘न्यानोप्रविधि’ पेटेन्ट पायो यो मुलुकले

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १८ बुधबार
semiconductor.jpg

बेइजिङ । विगत २५ वर्षमा विश्वभर स्वीकृत भएका 'न्यानोप्रविधि' सम्बन्धी आविष्कार अधिकार (पेटेन्ट) हरूको ४३ प्रतिशत हिस्सा चीनको रहेको एक श्वेतपत्रमा उल्लेख छ। 'चीन न्यानोप्रविधि उद्योग २०२५' नामक सो श्वेतपत्र आइतबार बेइजिङमा आयोजित एक औद्योगिक मञ्चमा सार्वजनिक गरिएको हो।

सन् २००० देखि २०२५ सम्म विश्वभर जारी भएका १० लाख ७० हजारभन्दा बढी न्यानोप्रविधिसम्बन्धी पेटेन्टमध्ये चीन एक्लैले ४ लाख ६४ हजार प्राप्त गरेको छ। यो सङ्ख्या अमेरिका, जापान र दक्षिण कोरियाले संयुक्त रूपमा पाएका पेटेन्टभन्दा पनि धेरै हो।

श्वेतपत्रका अनुसार, चीनका पेटेन्टहरू मुख्यतया अर्धचालक उपकरण (सेमिकन्डक्टर), उत्प्रेरक रसायन, जैविक औषधि र नयाँ सामग्री जस्ता प्रमुख प्रविधिमा केन्द्रित छन्। अर्धचालक प्रविधिमा बेइजिङ, सांघाई, शेन्जेन र सुछोउ अग्रणी छन् भने जैविक औषधिमा बेइजिङ, सांघाई र ग्वाङझोउ मुख्य केन्द्रहरू हुन्।

चीन विज्ञान प्रतिष्ठानले २३ हजार ४०० आविष्कार अधिकार प्राप्त गरी विश्वकै सबैभन्दा धेरै पेटेन्ट प्राप्त गर्ने संस्था बनेको छ। चीनमा न्यानोप्रविधिसम्बन्धी अधिकारहरू स्थानान्तरण दिने दर ८ प्रतिशत नाघिसकेको छ, जसले प्रविधिको व्यावसायीकरणमा प्रगति भइरहेको देखाउँछ।

सन् २०१८ को अन्त्यसम्म चीनमा न्यानोप्रविधिमा आधारित कम्पनीहरूको सङ्ख्या ३४ हजार ५०० नाघेको छ, जसमध्ये ७३९ कम्पनी शेयर बजारमा सूचीकृत छन्। यो क्षेत्रले करिब ९९ लाख मानिसलाई रोजगारी दिएको छ।

श्वेतपत्रमा विश्व न्यानोप्रविधि बजार सन् २०२५ को अन्त्यसम्म १.५ ट्रिलियन अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ, जसको वार्षिक औसत वृद्धिदर १७ प्रतिशतभन्दा बढी छ।

१०औं अन्तर्राष्ट्रिय न्यानोविज्ञान तथा प्रविधि सम्मेलनमा सार्वजनिक गरिएको यस श्वेतपत्रले चीनले न्यानोप्रविधिमा हासिल गरेको सफलता र भविष्यमा यसको भूमिका अझै सशक्त हुने कुरामा जोड दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ