arrow

श्रीकृष्णको प्रिय दिनमा राशिफल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १८ बुधबार
rashifal-horoscope-5.jpg

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।

आजको पञ्चाङ्ग

मिति २०८२ भदौ १८ गते बुधबार, इस्वीसंवत सेप्टेम्बर ३ तारिक सन् २०२५, श्रीशाके १९४७, नेपाल संवत् ११४५, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । वर्षा ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार भाद्रपदशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज भाद्रपदशुक्लपक्षको एकादशी तिथि रातिमा १ः३५ बजेसम्म त्यसपछि द्वादशी तिथि लाग्नेछ । नक्षत्रमा पूर्वाषाढा रातिमा ९ः४३ बजेसम्म त्यसपछि उत्तरषाढा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा आयुष्मान २५ घटि ४५ पलासम्म त्यसपछि सौभाग्य योग लाग्नेछ । करणमा वणिज रहनेछ । आनन्दादि योगमा श्रीवत्स रहनेछ ।

सूर्य सिंह राशिमा, चन्द्रमा धनु राशिमा रहनेछ । आज दिनमान ३१ घटि ३२ पला अर्थात १२ घण्टा ३८ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहानमा ५ः४३ बजे तुरुदेव मुहूर्तमा भइसकेको छ भने सूर्यास्त साँझमा ठीक ६ः२१ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय दिनमा ३ः३० बजे र अस्ताउने समय रातिमा १२ः४९ बजे रहेको छ । आज हरिपरिवर्तनी एकादशी व्रत गर्ने दिन रहेको छ । 

आजको राशिफल

मेषः आज अर्काका कुरा सुनेर पार्टनरको जीवनचर्या र व्यवहारमा शङ्का नगर्नु होला, बरु लोङ टुरको कुनै कार्यक्रममा सँगै जाने वातावरण बनाउनु ठीक हुन्छ । सम्मान र साख प्राप्त गर्न सकिने सुन्दर दिन छ । नोकरी र व्यवसायिक जीवनमा सुधार आउने तथा प्रतिष्ठाप्राप्ति वा पदोन्नतिको सम्भावना देखिन्छ । स्वास्थ्यक्षेत्र, काठपात, ढुंगागिट्टी, मिलमेसिनरी र ढुवानीसम्बद्ध कारोबारीले आयस्रोत बढाउन सक्नुहुन्छ, तर कार्यक्षेत्रमा विभिन्न चुनौती र सङ्घर्ष झेल्दै काम गर्नुपर्ने हुन्छ । 

बृषः आज पारिवारिक सुख पाउनुका साथै बृद्धबृद्धाको आशीष मिल्ने दिन हो । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ अनि दाम्पत्य जीवन पनि सुखमय रहनेछ । बौद्धिकतामा निखार आउने दिन हो, अतः विषयवस्तुप्रति गम्भीर बन्न प्रयास गर्नुहोला, पढाइमा लगाव बढाउनुपर्छ, सोचेजस्तै रिजल्ट पाउन सकिने छ । अनुयायी, जुनियर स्टाफ र सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बनाउन सकिने तथा नयाँ काम सुरु गर्ने समय हो । उद्यमी र लगनशील व्यक्तिले अझ धेरै फाइदा बटुल्नेछन् । 

मिथुनः आज परिस्थिति अनुकूल देखिए पनि भौतिक सुविधा बढाउन थप व्ययभार थपिने दिन हो, त्यस्तै मनोरञ्जनात्मक क्रियाकलापमा अलमलिंदा गर्नैपर्ने काममा बिलम्ब हुनेछ । प्रेम जीवन र रोमान्टिक जीवनमा केही असहजता वा बाधा आइलाग्ने समय हो, तथापि घरपरिवार र सँगीसाथीको साथ पाउनाले मन प्रसन्न रहने छ । यो समय घमण्ड र जिद्दीपना बढ्ने समय हो । याद गर्नुहोला, अवसर आए पनि हतारको कामले लतरपतर हुनसक्छ । 

कर्कटः आज साझेदार र सहकर्मीको सुझाव लाभदायी ठहरिने छ । कामधन्दा छोडेर सामाजिक क्रियाकलापमा सक्रिय भइने छ, तथापि चुस्तदुरुस्त व्यवस्थापनका कारण बेफाइदा हुनेछैन । पारिवारिक वातावरण सुखमय रहनेछ, सँगीसाथीसित भेटघाट गर्दै नयाँ योजना बनाउने समय हो, कहीं कतै भ्रमणमा निस्कने योगसमेत बनेको छ । नजानेको वा नसुल्झिएको विषयवस्तुमा सहपाठीको सहयोग लिनुहोला, किनकि जब तपाईंको उद्देश्य सुदृढ हुन्छ, कडा परिश्रम विकल्प होइन आवश्यकता बन्ने गर्दछ । 

सिंहः आज आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने दिन हो, सेयरमा रुचि छ भने अनुभवीको राय लिएर लगानी गर्न सक्नुहुन्छ, साथै स्थिर प्रयोजनको धनमा समेत लगानी बढाउने दिन हो । आन्तरिक क्षमताको प्रयोग गरी वा मुख र हाउभाउकै माध्यमबाट कुनै विशेष अवसर फुत्काउन सक्नुहुन्छ, अतिरिक्त आम्दानीका लागि मिहिनेत गर्ने दिन हो । सुख एवं समृद्धिमा बृद्धि हुनेछ, घुमघाममा निस्कने वा मस्ती गर्ने योजना बन्नसक्छ, तर खर्च हुनसक्ने भएकाले गोजी दह्रो बनाउनु ठीक हुनेछ । 

कन्याः आज मिहिनेतका बलमा सम्मान र प्रतिष्ठा कमाउन सकिने राम्रो समय छ, प्रतिस्पद्र्धीहरू पछि पर्नेछन्, लगनशील बन्नसके दायित्व र जिम्मेवारीसमेत बढ्ने छ । घुमघाममा जाने वा मस्ती गर्ने योजना बनाउन सक्नुहुन्छ । तर जिद र हठलाई त्याग्नु होला, नत्र ससाना कुरामा विवाद हुनसक्छ । सरकारी वा प्रशासनिक समस्या हल हुनेछन्, व्यक्तिगत प्रतिष्ठा र धनधान्यमा पनि बृद्धि हुनेछ, तर अहङ्कार र आडम्बरबाट जोगिनु बेस हुन्छ । 

तुलाः आज राखनधरनप्रति सचेत हुने र तालसाँचो बलियो बनाउनुपर्ने दिन हो, अझ घरमा नयाँ र नौलो मानिसको उपस्थिति छ भने सतर्कता अपनाउनु होला । महत्त्वहीन र बेकारका काममा समय नबिताउनु होला, बरु मन स्थिर छैन भने एकछिन आराम गरेर फेरि पठनपाठनमा जुट्नु ठीक हुनेछ । कामधाममा भन्दा पनि कल्पना र भावनामा केन्द्रित भइने छ । घरपरिवार वा छरछिमेकीका सानातिना जिम्मेबारी बोक्नुपर्ने हुन्छ, बढी खर्च हुने परिस्थिति छ, त्यसैले आर्थिक कारोबारमा सतर्कता अपनाउनु पर्छ । 

बृश्चिकः आज मानसिक सन्तुष्टिको समय हो, तथापि आज कुनैकुनै कुरामा भावनामा वहन सक्नुहुन्छ । पार्टनरलाई कुनै उपहार दिएमा सम्बन्धमा अझ प्रगाढता छाउनेछ । लक्ष्य र उद्देश्यको मूल्याङ्कन र परिमार्जन गर्ने समय हो, नयाँ काम सुरु गर्ने हो भने पहिले योजना बनाउनुहोस्, अनिमात्र प्रयास गर्नुहोला । घरजग्गा व्यवसायीले कुनै लाभदायक सम्झौता गर्नसक्छन्, तर सहकार्यमा कुनै काम गर्दै हुनुहुन्छ भने अर्काको भरमा मात्र ढुक्क पर्नु ठीक हुँदैन । 

धनुः आज अद्भूत क्षमताको उपयोग गरी ठोस उपलब्धि लिन सकिने राम्रै समय छ, तर पनि आर्थिक पक्ष र घरायसी वातावरणमा केही उतारचढाव देखा पर्नसक्छ । लेखन÷प्रकाशनको काम, परामर्श सेवा, लेखा सेवा, कन्सल्टेन्सी, वकालत, शेयर मार्केट, कम्प्यूटरसम्बद्ध काम वा वाणीप्रधान कामबाट फाइदा लिने दिन हो । दाम्पत्यसम्बन्ध र पारिवारिक जीवन सुखमय रहनेछ, अभिभावकको सहानुभूति मिल्नेछ । कामकाजी महिलाले आफ्नो कार्यक्षेत्रमा समेत राम्रो प्रगति गर्नसक्ने समय हो । 

मकरः आज सपनालाई साकार तुल्याइने छ, लक्ष्य पहिल्याउन सजिलो हुनेछ तर लक्ष्य पूरा गर्न अलि धेरै मिहिनेत गर्नुपर्छ अनि मात्र सफल भइने छ । सफलता चाहनेले समस्या पहिल्याउनमा होइन, समाधान खोज्नमा ध्यान केन्द्रित गर्नुपर्छ, भविष्य सुध्रनुका साथै ठोस आम्दानीसमेत हासिल हुनसक्छ । तपाईंले केवल प्रयास गर्ने हो, भाग्यले नचिताएको उपलब्धि प्रदान गर्नेछ । आम्दानीको मार्गमा बढोत्तरी हुनाले जीवनमा नयाँ आयाम थपिने दिन हो । विदेशी परियोजनामा काम गरेमा सुसुप्त चाहनालाई जीवन्त तुल्याउन सकिने छ । 

कुम्भः आज हरेक क्रियाकलापमा सफल भइने छ, तर मुड घरिघरि अशान्त बन्नसक्छ । याद गर्नुहोला, अनुशासन र संयमता आजको सफलताको सूत्र हो । कसैको चित्त दुखाएर फाइदा लिने कोशिस गर्नुहुँदैन, दुराशा र महत्त्वाकाङ्क्षाले केवल निराशामात्र बढ्दछ । हतारमा लिएको निर्णय गलत हुनसक्छ, त्यसैले धैर्य र संयमताका साथमा काम गर्ने दिन हो । लक्ष्यप्रति ध्यानकेन्द्रित नहुने समय छ, चोटपटक वा दुर्घटनाबाट बच्न सावधानी अपनाउनु ठीक हुन्छ, अनि आज कार्यक्षेत्रको बोझ घरमा लिएर जानु हुँदैन । 

मीनः आज क्रूरता र कडापन देखिने छ, परिवारभित्रका वादविवाद, झैझगडा र समस्याहरूमा संयम हुनुहोला, त्यस्तै घरमा सम्पर्क गरी आमासँग कुराकानी गरेको जाती हुन्छ । भौतिक उपकरण वा सुखसुविधाको वस्तु खरिद गर्ने समय हो, नयाँ लगानी गर्नु छ भने जीवनसाथीको नाममा सुरु गर्नुहोस्, फाइदा हुनेछ । पारिवारिक सुखमा कमी देखिंदैन, तथापि आजको कुनै समय वैवाहिक सम्बन्धका सुमधुर पलहरूको स्मृतिमा बित्ने तथा हृदय भावुक बन्नसक्ने दिन हो ।

साहित (यात्रा): सूर्य सिंह राशिमा, चन्द्रमा धनु राशिमा रहनेछ । त्यसैले पूर्वबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बुधबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला । आज उत्तर, दक्षिण र पश्चिमतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः४१ बजेदेखि ७ः१७ बजेसम्म लाभ बेला
बिहान ७ः१७ बजेदेखि ८ः५३ बजेसम्म अमृत बेला
बिहान ८ः५३ बजेदेखि १०ः२८ बजेसम्म काल बेला
बिहान १०ः२८ बजेदेखि १२ः०४ बजेसम्म शुभ बेला
दिनमा १२ः०४ बजेदेखि १ः३९ बजेसम्म रोग बेला
दिनमा १ः३९ बजेदेखि ३ः१५ बजेसम्म उद्धेग बेला
दिनमा ३ः१५ बजेदेखि ४ः५० बजेसम्म चर बेला
दिनमा ४ः५० बजेदेखि ६ः२६ बजेसम्म लाभ बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः२६ बजेदेखि ७ः५० बजेसम्म अमृत बेला
साँझ ७ः५० बजेदेखि ९ः१५ बजेसम्म काल बेला
राति ९ः१५ बजेदेखि १०ः३९ बजेसम्म शुभ बेला
राति १०ः३९ बजेदेखि १२ः०४ बजेसम्म रोग बेला
राति १२ः०४ बजेदेखि १ः२८ बजेसम्म उद्धेग बेला
राति १ः२८ बजेदेखि २ः५३ बजेसम्म चर बेला
रातिमा २ः५३ बजेदेखि ४ः१७ बजेसम्म लाभ बेला
रातिमा ४ः१७ बजेदेखि ०५ः४२ बजेसम्म अमृत बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा १२ः०० देखि १ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ