काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा सुनको मूल्य पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (मंगलबार) सुनको मूल्य प्रतितोला २ लाख ५ हजार ९ सय रुपैयाँ कायम भएको छ।
सोमबार प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ६ सय रुपैयाँले बढेको हो। यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेर २ हजार ४८५ रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष माणिकरत्न शाक्यका अनुसार, नेपाली बजारमा मूल्य बढ्नुको मुख्य कारण उपभोक्ताको माग नभई विश्वको राजनीति र अर्थतन्त्रमा आएको उतारचढाव हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३ हजार ४९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।