पूर्वी नाकाबाट साउनमा १.२३ अर्बको कृषिजन्य वस्तु निर्यात
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १६ सोमबार
559
Shares
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा पूर्वी नाका काँकरभिट्टाबाट १ अर्ब २३ करोड ५३ लाख ८६ हजार रुपैयाँ बराबरको कृषिजन्य वस्तु निर्यात भएको छ। प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी सन्तोष थापाले दिएको जानकारी अनुसार, सबैभन्दा धेरै चिया, अलैँची र प्लाइ तथा भेनियर निर्यात भएका छन्।
एक महिनाको अवधिमा चिया ३७ करोड ९८ लाख ६८ हजार रुपैयाँ, अलैँची ३२ करोड ४३ लाख २१ हजार रुपैयाँ, प्लाइ तथा भेनियर २६ करोड ८७ लाख रुपैयाँ, र अम्लिसो ८ करोड ८७ लाख रुपैयाँ बराबरको निर्यात भएको छ। यसैगरी, अदुवा, बन्दा र मसुरो दाल पनि उल्लेख्य मात्रामा निर्यात भएका छन्।
यही अवधिमा सोही नाकाबाट १ अर्ब ६९ करोड १७ लाख ५२ हजार रुपैयाँ बराबरको कृषिजन्य वस्तु आयात भएको छ। आयातित वस्तुहरूमा कोदो, गेडागुडी, चामल, तरकारी, फलफूल, लसुन, आलु, मकै र पशु दाना जस्ता वस्तुहरू रहेका छन्।