काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । चीनमा भइरहेको शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुने क्रममा ओली र मोदीबीच भेटवार्ता भएको हो ।
यो भेटवार्तालाई प्रधानमन्त्री मोदीले विशेष भनी उल्लेख गरेका छन् । आइतबार साँझ भएको भेटलाई मोदीले सामाजिक सञ्जाल एक्समा लेख्दै विशेष भनी उल्लेख गरेका हुन् ।
उनले ओलीलाई भेट्न पाउँदा खुशी लागेको उल्लेख गर्दै नेपालसँग भारतको सम्बन्ध गहिरो र धेरै नै विशेष भएकोसमेत लेखेका छन् ।
उनले यस्तो लेखेका छन् एक्समा, ‘तिआनजिनमा नेपालका प्रधानमन्त्री श्री केपी ओलीलाई भेट्न पाउँदा खुशी लाग्यो । नेपालसँग भारतको सम्बन्ध गहिरो र धेरै विशेष छ ।’
मोदीसँगको भेटबारे प्रधानमन्त्री ओलीको सचिवालयले भने कुनै उल्लेख गरेको छैन ।
चीन भ्रमणबाट फर्केपछि प्रधानमन्त्री ओली भदौ अन्तिममा भारत जाने जनाइएको छ । यद्यपि अहिलेसम्म भ्रमण तालिका भने सार्वजनिक भइसकेको छैन ।