arrow

एएफसी यू–२३ एसियन कपमा छनोट हुने नेपाली टोलीको लक्ष्य

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १५ आइतबार
u-23-football-farewell.jpg

काठमाडौँ । नेपाली यू–२३ युवा फुटबल टोलीले ताजिकिस्तानमा तय एएफसी यु–२३ एसियन कप क्वालिफिकेसनमा छनोट हुने लक्ष्यका साथ उत्रने बताएको छ ।

नेपाली युवा टोलीले आगामी सेप्टेम्बर ३ देखि ताजिकिस्तानमा हुने यु–२३ एसियन कप क्वालिफिकेसनमा समूह ‘के’ बाट चुनौती प्रस्तुत गर्दैछ । 

नेपाली टोली आज ताजिकिस्तान जाँदैछ । नेपाली युवा टोलीका प्रशिक्षक नवीन न्यौपानेले तयारी गर्न पर्याप्त समय पाएको र प्रशिक्षण पनि प्रभावकारी भएकाले छनोट हुने लक्ष्य रहेको आशा व्यक्त गरेका छन् । 

प्रशिक्षक न्यौपानले करिब दुई महिनादेखि तयारी गर्ने समयमा पाएको उल्लेख गर्दै यसबीचमा आफूले इन्डुरेन्समा ध्यान दिएको बताए । सिनियर राष्ट्रिय टोलीबाट नै खेलिसकेका चार जना र विभिन्न उमेर समूहबाट खेलका उत्कृष्ट खेलाडी यू–२३ को टोलीमा रहेकाले उत्कृष्ट नतिजा आउनेमा उनी आशावादी छन् ।

उनले आफूसँग केही अनुभवी खेलाडी पनि रहेको र तयारी राम्रो हुँदा देशलाई सकारात्मक नतिजा दिनेमा आफू विश्वस्त रहेको बताएका छन् । उनले यसै छनोटका लागि सिनियर टोलीसँग मैत्रीपूर्ण खेल खेलेको र त्यस खेलका क्रममा सुखद संकेत देखिएको बताए । 

आफ्नै प्रशिक्षणमा सिनियर टोलीलाई ताजिकिस्तानमा खेलिसकेकाले त्यहाँको वातावरणबारे आफूसँग अनुभव पनि रहेको उनी बताउँछन् । प्रशिक्षण अवधिमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई टोलीमा समावेश गरिएको उनले स्पष्ट पारे । कुनै एक खेलाडीले छनोट सही तरिकाले नभएको भन्ने आरोपबारे प्रशिक्षक न्यौपानेले त्यसमा कुनै सत्यता नरहेको स्पष्ट पारे । 

उनले आरोप लगाउने खेलाडीमा पनि क्षमता रहेको तर छनोटमा उत्कृष्ट दिन खेलाडीलाई टोलीमा समावेश गरिएको उल्लेख गरेका छन् । आयोजकसहित सिरिया र फिलिपिन्स रहेको यस समूहको शीर्ष स्थानमा रहँदै नेपाली टोलीले छनोट हुने लक्ष्य राखेको छ । 

कप्तान आयुस घलानले पनि सन्तुलित टोली बनेकाले छनोट हुने लक्ष्यसहित खेल्ने विश्वास व्यक्त गरेका छन् । प्रशिक्षकको योजना र ट्याक्टिसअनुसार आफूहरूले खेल्ने उनी बताउँछन् । 

यस छनोटबाट १६ राष्ट्रले सन् २०२६ को जनवरी ७ देखि २५ सम्म साउदी अरेबियामा हुने एएफसी यू–२३ एसियन कपमा स्थान बनाउनेछन् । 

नेपालको समूहमा सबै बलिया राष्ट्र हुन् । फिफा वरीयतामा धेरै माथिका राष्ट्र रहेको समूहमा नेपालले छनोट हुने लक्ष्य राखेको छ । प्रशिक्षक न्यौपानेले दुई महिना अघि ८९ जनाको प्रारम्भिक टोलीबाट २३ सदस्यी नेपाली टोली घोषणा गरेका हुन् । 

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ, महासचिव किरण राई र प्रवक्ता सुरेश शाहलगायतले नेपाली टोलीलाई बिदाइ गरेका थिए । 

नेपालले आगामी सेप्टेम्बर ३ मा ताजिकिस्तानसँग खेल्दै छनोट यात्रा थाल्नेछ । त्यसपछि सबैभन्दा बलियो टोली सिरियासँग सेप्टेम्बर ६ र तेस्रो खेल फिलिपिन्ससँग सेप्टेम्बर ९ तारिखमा खेल्नेछ । 

हरेक ११ वटा समूहका विजेता र उत्कृष्ट चार उपविजेताले यु–२३ एसियन कपमा स्थान बनाउनेछ । एन्फाका महासचिव किरण राईले खेलमा पछि परेको स्थितिमा पनि सन्तुलन नगुमाइ धेर्यताका साथ खेल्न अनुरोध गरे । 

उनले तीन करोड नेपालीको भरोसालाई ध्यानमा राखेर खेल्न सुझाव दिँदै नेपालको सिनियर राष्ट्रिय टोलीको भविष्य पनि भएकाले अनुशासित भएर खेल्न आग्रह गरे । उनले आगामी पुस ९ गतेदेखि सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगको तयारी पनि भइरहेको बताए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ