गौरा पर्वको तेस्रो दिन, आज ‘ठूली गौरा’ भित्र्याइँदै
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १४ शनिबार
596
Shares
बैतडी। सुदूरपश्चिमेलीको मुख्य पर्व गौराअन्तर्गत आज तेस्रो दिन ब्रतालु महिलाहरूले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन्। स्थानीय भाषामा यस दिनलाई ‘भितरीकी गौरा’ वा ‘ठूली गौरा’ भनिन्छ।
स्थानीय संस्कृतिका जानकार आचार्य विष्णुदत्त भट्टका अनुसार, ब्रतालु महिलाहरूले बिहानै नुहाइधुवाई गरी साँझको समयमा गौरालाई गौराघरमा भित्र्याउने चलन छ। आज अमुक्ताभरण सप्तमी भएकाले महिलाहरू भेला भएर फाग गाउँदै गौरादेवीको पूजा गर्छन्। उनीहरूले गौरा र महेश्वरको प्रतिमा स्थापना गरी फलफूल र बिरुडाले पूजा गर्ने गर्दछन्।
पण्डित जयानन्द भट्टले तागाधारी पुरुषहरूले जनै धारण गरेजस्तै महिलाहरूले गौराको समयमा ‘दुबधागो’ धारण गर्ने परम्परा रहेको बताएका छन्। आज ब्रतालु महिलाहरूले विशेष प्रकारको दुबधागो गौरादेवीमा चढाउने गर्छन्। साँझमा उनीहरूले कुण्ड स्नान पनि गर्ने चलन छ। आज चढाएको दुबधागोलाई भोलि दुर्वाष्टमी अर्थात् ‘अठ्यावाली’ को दिन महिलाहरूले धारण गर्छन्।
गौरा पर्वको मुख्य दिनमध्ये एक मानिने सप्तमीमा गौरा र महेश्वरको पूजा गरेपछि ब्रतालु महिलाहरूले राति मिठोमसिनो खाना खाने चलन छ। भोलि गौराष्टमी अर्थात् अठ्यावालीका दिन महिलाहरूले गौरालाई गौराघरबाट गौराखलामा लगेर पूजा गर्ने चलन छ। यस समयमा विभिन्न ठाडो खेल, ढुस्को, धमारी, र चैत खेल्ने गरिन्छ। दशैँभन्दा पनि बढी महत्त्व दिइने यो पर्व मनाउन परदेशिएकाहरू पनि घर फर्किने गर्छन्।