arrow

गणेश थापालाई अदालतले दियो न्याय, फुटबलबाट टाढा राख्ने एन्फाको निर्णय खारेज

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ११ बुधबार
ganesh-thapa-anfa.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापालाई अदालतले न्याय दिएको छ । एन्फाले फुटबलका जुनसुकै गतिविधिबाट रोक लगाउन गरेको निर्णयलाई अदालतले खारेज गरेसँगै पूर्व राष्ट्रिय टिमका कप्तानसमेत रहेका थापाले न्याय पाएका हुन् ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अनुशासन समिति सदस्यसमेत भइसकेका थापालाई हालको एन्फाको अनुशासन समितिले फुटबलका कुनै पनि गतिविधि गर्नबाट रोक लगाएको थियो । 

न्यायको ढोका ढक्ढक्याएका थापालाई उच्च अदालत पाटनले न्याय दिँदै उच्च अदालत पाटनले उक्त निर्णय न्यायको सिद्धान्त अनुसार नभएको भन्दै खारेज गरिदिएको हो ।

उच्चले भने फिफाको कारबाही भोगिसकेको हुँदा थापामाथि सोही विषयमा पुनः कारवाही हुन नसक्ने प्रष्ट पारेको छ । थापालाई फिफाले १० वर्षको प्रतिबन्ध लगाएकामा इमानदारीपूर्वक फुटबलका गतिविधिबाट १० वर्ष टाढा रहे । 

उनको उक्त प्रतिबन्ध फुकुवा भइसकेको छ । प्रतिबन्ध फुकुवा भइसकेपछि फुटबलका गतिविधिमा सक्रिय हुन खोज्दा एन्फाको हालको कार्यसमितिले उनलाई रोक लगाउन खोजेको हो । गत बैशाख ४ गते एन्फाको अनुशासन समितिले र बैशाख १६ गते विधानको धारा २४ (३) ङ अनुसार भन्दै थापालाई कुनै पनि फुटबलका गतिविधिमा भाग लिन बन्देज गरेको थियो । 

यस सम्बन्धमा उच्च अदालतका न्यायाधीश मुनिन्द्रराज अवस्थीले गरेको फैसलामा ‘एकै विषयमा दुईपटक सजाय गर्न नमिल्ने भन्ने सिद्धान्त रहेको परिप्रेक्षमा निवेदकलाई फिफाले गरेको कारबाहीमा पुनः कारवाही गरी निज निवेदक गणेश थापा भविष्यमा फुटबल गतिविधिमा सहभागी हुनबाट रोक लगाएको अवस्था मिसलबाट देखिन्छ । एउटै विषयमा पटक पटक कारबाही गर्न नसकिने प्राङ्न्यायको सिद्दान्तसमेतबाट पुन कारबाही गर्न मिल्ने देखिँदैन’ भनिएको छ । 

अदालतले एन्फाका नाममा थापालाई फुटबल गतिविधिमा सहभागी हुन नपाउने कुनै पनि काम कारबाही नगर्न र नगराउन आदेश जारी गरेको छ ।

उक्त फैसलापछि पूर्व अध्यक्ष थापाले पूर्णपाठसहित प्रेस विज्ञप्ति जारी गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ