पाेखरा । सिर्जना बहिरा माविमा उत्पन्न विवादबारे विद्यार्थीहरुसँग सोमबार सहमति भएको जनाइएको छ । पोखरा-२६ का अध्यक्ष नरेन्द्र थापाको पहलमा भएको सर्वपक्षीय भेलामा विद्यार्थीले उठाएको मागका सम्बन्धमा छानबिन गर्न पोखरा महानगरपालिका शिक्षा महाशाखामा लेखी पठाउने सहमति भएको हो ।
योसँगै विद्यार्थीले कुनै पनि निकाय अगाडि आन्दोलन नगर्ने र शिक्षकहरुले नियमित पठनपाठन गराउने सहमति भएको छ ।
सिर्जना बहिरा मावि फरक प्रकृतिको विद्यालय भएकाले यहाँको समस्या समाधानका लागि आफू गम्भीर रहेको अध्यक्ष थापाले बताए ।
विद्यालय प्रशासनले बलात्कार मुद्दामा विद्यार्थी विजय बिकलाई फसाएको, आफूहरुलाई सुरक्षा नभएको, पठनपाठनमा समस्या भएको, विद्यालयमा आर्थिक अनुशासन नभएको लगायतका माग राख्दै आएका थिए ।