arrow

यसरी नेपाल बन्यो रूबेला मुक्त देश

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ९ सोमबार
pradeep-poudel-05-09.jpg

काठामडौँ । नेपालले जनस्वास्थ्य क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गर्दै रूबेला रोगलाई निवारण गरेको औपचारिक घोषणा गरिएको छ ।

विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले २०८२ साल भदौ २ गते नेपालले रूबेला रोग निवारण गर्न सफल भएको घोषणा गरेको हो । यससँगै नेपाल, दक्षिण-पूर्वी एसिया क्षेत्रमा रूबेला निवारण गर्ने छैटौं मुलुक बनेको छ ।

सन् २०१२ मा सुरु गरिएको राष्ट्रिय खोप अभियानअन्तर्गत नाै महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गर्दै दिइएको दादुरा-रूबेला खोप, पछिल्लो एक दशकको निरन्तर प्रयास र खोप सेवाको सुदृढीकरणले यो सफलता सम्भव भएको हो ।

सन् २०१५ र २०२३ को भूकम्प तथा कोभिड-१९ महामारीजस्ता संकटबीच पनि नेपालले २०१२, २०१६, २०२० र २०२४ मा रुबेला खोप अभियान सफलतापूर्वक सञ्चालन गरेको थियो । यी अभियानले जीवनरक्षक खोपको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याएका थिए ।

नेपालले दादुरा-रूबेला रोगको निगरानी प्रभावकारी बनाउँदै प्रति एक लाख जनसंख्यामा कम्तीमा दुई जना शंकास्पद बिरामी पहिचान गर्नु पर्ने अन्तर्राष्ट्रिय मापदण्ड भन्दा धेरै, आठ जना भन्दा बढी बिरामी पहिचान गर्ने दर कायम गरेको छ ।

देशभर रहेका तीनवटा प्रयोगशालामा शंकास्पद बिरामीका नमूना परीक्षण हुँदै आएको छ भने १५ वटा अस्पतालमार्फत जन्मजात रूबेला सिन्ड्रोमको निगरानी पनि सञ्चालनमा छ ।

नेपाल सरकारले ‘पूर्णखोप वडा’, ‘पूर्णखोप पालिका’ हुँदै ‘पूर्णखोप जिल्ला’ घोषणालाई प्राथमिकतामा राख्दै २०७९/८० मा पहिलोपटक देशका सम्पूर्ण ७७ जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेको छ ।

नेपालमा नियमित खोप कार्यक्रमअन्तर्गत दादुरा-रूबेला खोपको कम्तीमा १ मात्राको कभरेज सन् २०२४ सम्ममा ९५ प्रतिशत पुगेको छ ।

यस उपलब्धिमा सरकारका प्रयाससँगै विकास साझेदार संस्थाहरूको पनि महत्वपूर्ण सहयोग रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दक्षिण-पूर्वी एसियाली मुलुकमध्ये भुटान, उत्तर कोरिया, माल्दिभ्स, श्रीलङ्का, टिमोर-लेस्टे र अब नेपालले रूबेला निवारण गरिसकेका छन् । दादुरा निवारणमा भने नेपालले अब थप तीव्र प्रयास गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताए ।

नेपालको यो सफलता, खोप अभियान तथा जनस्वास्थ्य सुरक्षामा गरिएको दशकौं लामो लगानीको परिणाम भएको समेत उनले बताए ।

उनले भने, ‘करिब १५ वर्षको अथक प्रयासपछि देशलाई रूबेला मुक्त बनाउन सकेका छौँ । डब्लुएचओले नेपाललाई रुबेला मुक्त देश घोषणा गरेको छ । डब्लुएचओ, युनिसेफ जस्ता संस्थाको सहयोगबाट सम्भव भएको हो । अबको प्राथमिकता भनेको यो उपलब्धिलाई दीगो बनाउँदै आगामी वर्षमा दादुरा निवारणको लक्ष्यमा पुग्नु हो ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ