झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना (साउन) मा पूर्वीनाका काँकरभिट्टाबाट हुने आयात र निर्यात दुवै घटेको छ, तर भन्सार राजस्व भने बढेको छ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागार्इंले दिएको जानकारी अनुसार, साउन महिनामा ३ अर्ब ६९ करोड ४० लाख रुपैयाँ बराबरका मालवस्तु आयात भएका छन्। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९ करोड २ लाख रुपैयाँले कम हो। गत वर्ष साउनमा ३ अर्ब ८८ करोड ४३ लाखको आयात भएको थियो।
यसैगरी, चालु आर्थिक वर्षको साउनमा निर्यात पनि घटेको छ। यस अवधिमा १ अर्ब ५४ करोड २८ लाख रुपैयाँ बराबरको सामान निर्यात भएको छ, जबकि गत वर्षको सोही अवधिमा १ अर्ब ८० करोड ८२ लाख रुपैयाँ को निर्यात भएको थियो।
आयात र निर्यात दुवै घटे पनि राजस्व संकलन भने बढेको छ। चालु आर्थिक वर्षको साउनमा १ अर्ब २६ करोड ५० लाख रुपैयाँ राजस्व संकलन भएको छ, जुन गत वर्षको तुलनामा १५ करोड १८ लाख रुपैयाँले बढी हो।