कुटपिटबाट थापाको मृत्यु, दुई पक्राउ, अन्यको खोजी जारी
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ८ आइतबार
598
Shares
स्याङ्जा । स्याङ्जामा कुटपिटबाट एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा वालिङ नगरपालिका वडा नं ५, बाहुनडाँडाका ३२ वर्षीय ढालबहादुर थापा छन् ।
कुटपिटबाट गम्भीर घाइते भएका थापाको गह्रौँ प्राथमिक अस्पतालमा उपचार हुन नसकेपछि पोखरा ल्याइएको थियो । उनको पोखरामा ल्याउनेवित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
सो घटनामा संलग्न स्याङ्जाको हरिनाश गाउँपालिका वडा नं ५ का २२ वर्षीय सिजन थापा र चापाकोट नगरपालिका वडा नं ५ का २४ वर्षीय अनिल शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रशन्नराज चौधरीले जानकारी दिए । घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको र थप अनुसन्धान जारी रहेको छ ।
उनका अनुसार शनिबार राति बाहुनडाँडामा भएको सामान्य विवादले उग्ररूप लिँदा थापामाथि कुटपिट भएको थियो।
कुटपिटको सूचना पाउनासाथ वडा प्रहरी कार्यालय वालिङबाट प्रहरी निरीक्षकको कमान्डमा टोली घटनास्थल पुगेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।