काठमाडौँ। अदालतमा आफ्नो विनम्र र सहानुभूतिपूर्ण व्यवहारका कारण इन्टरनेटमा चर्चित अमेरिकी न्यायाधीश फ्रान्क क्याप्रियोको ८८ वर्षको उमेरमा निधन भएको छ। उनको परिवारले सामाजिक सञ्जालमार्फत यो दुःखद खबर सार्वजनिक गरेको हो।
प्यान्क्रियाटिक क्यान्सरसँग लामो समयसम्म लडेपछि उनको निधन भएको उनका छोरा डेभिड क्याप्रियोले जानकारी दिए। पारिवारिक विज्ञप्तिमा क्याप्रियो ‘गहिरो करुणा, नम्रता र मानवतामा अटुट विश्वास’ का कारण संसारभर प्रिय भएको उल्लेख गरिएको छ। उनलाई ‘मानवताको उत्कृष्ट उदाहरण’ मानिएको छ।
सन् २००२ मा सुरु भएको उनको अदालतको रियालिटी टिभी कार्यक्रम 'क्याच इन प्रोभिडेन्स' का क्लिपहरू सामाजिक सञ्जालमा भाइरल भए। यी क्लिपहरूमा उनले साना ट्राफिक नियम तोड्ने र पार्किङ टिकटका मुद्दाहरूमा देखाएको दयालु र सहानुभूतिपूर्ण व्यवहारलाई देखाइएको थियो। प्रायः उनले सङ्घर्षरत परिवारहरूको जरिवाना खारेज गर्ने वा बालबालिकाहरूलाई आफ्ना आमाबाबुको सजायबारे निर्णय गर्न दिने गर्थे। यसै कारण उनले सामाजिक सञ्जालमा लाखौँ अनुयायीहरू कमाए र उनीहरूले उनलाई 'संसारकै सबैभन्दा राम्रो न्यायाधीश' भनेर सम्बोधन गर्थे।
सन् १९३६ मा रोड आइल्यान्डमा जन्मेका क्याप्रियोले आफ्नो प्रारम्भिक जीवनमा जुत्ता पालिस र पत्रिका बेच्ने जस्ता काम गरे। कानुनको अध्ययन गर्दा पनि उनी दिनमा शिक्षकको रूपमा काम गर्थे। सन् १९८५ देखि २०२३ मा अवकाश नलिएसम्म उनले प्रोभिडेन्स नगरपालिका अदालतको मुख्य न्यायाधीशको रूपमा सेवा गरे।
रोड आइल्यान्डका गभर्नर डान म्याकीले क्याप्रियोलाई 'न्यायविद मात्र नभई सहानुभूतिका प्रतीक' भन्दै प्रशंसा गरेका छन्। उनले भने, "उहाँले हामीलाई जब न्याय मानवतासँग मिसिन्छ, तब असाधारण सम्भावनाहरू खुल्छन् भनेर देखाउनुभयो।" उनको सम्मानमा राज्यको झण्डा आधा झुकाउने आदेश पनि दिइएको छ।
क्याप्रियोले 'कम्प्यासन इन द कोर्टः लाइफ–चेन्जिङ स्टोरिज फ्रम अमेरिकाज नाइसेस्ट जज' शीर्षकमा आफ्नो आत्मकथा पनि प्रकाशित गरेका छन्