नेपालमा मनसुन कमजोर रहे पनि केही स्थानमा भारी वर्षाको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ५ बिहिबार
492
Shares
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले नेपालमा मनसुन केही कमजोर अवस्थामा छ। यद्यपि, देशका केही पहाडी तथा तराईका भू-भागमा वर्षाको सम्भावना कायमै रहेको महाशाखाले जनाएको छ।
आज दिउँसो देशका पहाडी भू-भागमा साधारणतया बदली रहनेछ र केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। बाँकी भू-भागमा आंशिक बदली रहनेछ।
त्यसैगरी, आज राति देशभर साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाले वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो, गेग्रान बहाव, नदीनालामा पानीको सतह बढ्न सक्ने र यातायातमा अवरोध आउन सक्ने भएकाले आवश्यक पूर्वतयारी गर्न र सचेत रहन सबैलाई अनुरोध गरेको छ।