अष्ट्रेलियामा नेपालको लगातार दोस्रो जित, मेलबर्न रेनेगेड्सलाई ३३ रनले हरायो
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ४ बुधबार
991
Shares
काठमाडौँ। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ। आजको खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले हराएको हो।
डार्विनस्थित काजालिस एरेनामा भएको खेलमा नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको रेनेगेड्सको टोली २० ओभरमा सबै विकेट गुमाउँदै १०६ रनमा समेटियो। रेनेगेड्सका लागि अर्जुन नायरले सर्वाधिक २६ रन बनाएका थिए।
नेपालको जितमा सोमपाल कामीको बलिङ उत्कृष्ट रह्यो। उनले एक्लै पाँच विकेट लिए। यसैगरी, कुशल भुर्तेलले दुई तथा रुपेश सिंह, दीपेन्द्रसिंह ऐरी र शाहब आलमले एक-एक विकेट लिए।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३९ रन बनाएको थियो। नेपालका लागि कुशल मल्लले सर्वाधिक २९ रनको योगदान दिए भने दीपेन्द्रसिंह ऐरीले २७ र लोकेश बमले २४ रन बनाए।
नेपालले यसअघि मंगलबार होबार्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले हराएको थियो। अब नेपालले भदौ ६ गते पाकिस्तान शाहीन्ससँग खेल्नेछ।