झापा । आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएकी यहाँकी एक महिलाको मृत्यु भएको छ ।
झापास्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिम्सिनाकाअनुसार घरमा एक्लै भएका बेला सोमबार दिउँसो पेट्रोल छर्केर आफ्नो शरीरमा आगो लगाएकी दमक नगरपालिका-१ भानु चोक निवासी मनोज साहकी श्रीमती ३० वर्षीया शोभाको मंगलबार बिहान मृत्यु भएको हो ।
दमक अस्पतालमा सामान्य उपचारपश्चात् धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकामा त्यहाँ उपचार नहुने जानकारी पाएपछि पुनः बिर्तामोडस्थित विएण्डसी अस्पतालमा ल्याउँदा निजको मृत्यु भएको हो । श्रीमानसँग मनमुटाव भएपछि निजले आत्मदाहको प्रयास गरेको आशङ्का प्रहरीको छ ।